काठमाडौं । छोटो समयमै नाफा बुक गर्ने परिपाटीका कारण मंगलवार नेप्से परिसूचक ११ दशमलव २४ अंकले घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से मंगलवार भने शून्य दशमलव ४० प्रतिशत घटेको हो । आइतवार ६२ दशमलव ५४ अंकले बढेको बजार सोमवार २२ दशमलव १४ अंकले बढेको थियो ।
मंगलवार २ हजार ७८८ दशमलव ३५ विन्दुसम्म पुगेको बजार २ हजार ७४८ दशमलव ९६ विन्दुमा बन्द भएको छ । यो दिन बजार २ हजार ७४१ दशमलव ६३ विन्दुसम्म झरेको नेप्सेले जानकारी दिएको छ ।
सोमवार ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँभन्दा बढीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता धितोपत्र कारोबार भएको हो । नेप्से परिसूचकसँगै सोमवारको तुलनामा मंगलवार कारोबार रकम समेत घटेको छ । यसले लगानीकर्ता सस्तोमा शेयर विक्री गर्न नचाहेको संकेत गर्छ ।
कुल कारोबार रकममा गुडवील फाइनान्सले सर्वाधिक हिस्सा ओगटेको छ । मंगलवार गुडवील फाइनान्सको २९ करोड २८ लाख ६१ हजार रुपैयाँभन्दा बढीको २ लाख ७७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४४ रुपैयाँ ५० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ३६ प्रतिशत अर्थात प्रतिकित्ता १०७ रुपैयाँ ८० पैसाले घटेको हो ।
यो दिन कम्पनीको शेयरमूल्य कारोबारमा आएका कम्पनीमध्ये सर्वाधिक घटेको हो । नेप्सेका अनुसार मंगलवारको कारोबारमा ८० कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १५७ कम्पनीले घटेको छ । ७ कम्पनीको धितोपत्र मूल्य भने यो दिन स्थिर रहेको छ ।
यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै वेष्ट फाइनान्सको ९ दशमलव ९९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशत र समृद्धि फाइनान्सको ९ दशमलव ६१ प्रतिशत शेयर मूल्य बढेको छ । सोमवार ४३ खर्ब ९४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४३ खर्ब ७७ अर्ब १७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
मंगलवारको कारोबारमा वित्त समूहको परिसूचक १ दशमलव १२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको शून्य दशमलव १३ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ३५ प्रतिशत बढेको छ । यीबाहेक अन्य समूहको परिसूचक भने यस दिन घटेका छन् ।
यो दिन बैंकिङको शून्य दशमलव ३५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव १५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५७ प्रतिशत, लगानीको शून्य दशमलव ३५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य २ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र अन्यको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ ।