विराटनगर । गतवर्ष साउनदेखि लगातार चिया निकासी घटेपछि निराश बनेका किसान र निर्यातकर्ता चालू आर्थिक वर्षको शुरूदेखि नै लगातार बढेपछि उत्साहित बनेका छन् ।
चालू वर्षको ७ महीना (साउन–माघ)मा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँको १ करोड २३ लाख ८८ हजार ४६९ किलोग्राम चिया निकासी भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार गतवर्ष साउन–माघमा २ अर्ब ३ करोड ८४ लाख ७३ हजार रुपैयाँको ८९ लाख ११ हजार ४२० किलोग्राम चिया निकासी भएको थियो ।
चालू आवको साउनदेखि माघसम्ममा गतवर्ष सोही अवधिको तुलनामा चिया निकासी ५५ दशमलव ३ प्रतिशतले बढेपछि किसान र निर्यातकर्तामा उत्साह थपिएको हो । भारतको दार्जिलिङ र आसाममा खडेरीले चिया उत्पादन घटेपछि नेपाली चियाको माग बढेको हो । त्यसैले निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
गतवर्ष र चालू वर्षको साउन–माघको तथ्यांक तुलना गर्दा यस वर्ष मेची नाकाबाट १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँको ३४ लाख ७७ हजार ४९ किलोग्राम बढी चिया निकासी भएको छ । चिया उत्पादक संघका अध्यक्ष पराजुलीका अनुसार भारतमा यस वर्ष १० करोड किलोग्रामभन्दा बढीले चिया उत्पादन घटेको छ । फलस्वरूप नेपाली चियाको माग भारतीय बजारमा बढेको छ । तर, नेपालमा पनि खडेरीका कारण उत्पादन घटेकाले भारतीय माग पूरा गर्न चुनौती छ ।
गतवर्ष नेपालमा २ करोड २५ लाख किलोग्राम चिया उत्पादन भएको थियो । यस वर्ष खडेरीका कारण उत्पादन ५० लाख किलोग्रामले घटेर १ करोड ७५ लाख किलोग्राममा सीमित भएको छ । तर, मूल्य वृद्धि र भारतीय बजारमा बढेको मागले किसानलाई राहत मिलेको छ ।
गतवर्ष नेपाली चियाको मूल्य प्रतिकिलोग्राम ९० देखि १०० रुपैयाँसम्म थियो । यस वर्ष बढेर १८० रुपैयाँसम्म पुगेको छ । यसले गर्दा उत्पादनमा कमी आए पनि किसानको आम्दानीमा सुधार आएको छ । हल्दीबारीका किसान पर्वत डाँगीले यसपटक चियाले राम्रो मूल्य पाएकाले आफूहरू निकै उत्साहित बनेको बताए । गतवर्ष सीटीसी चिया तयार गरेर पनि गोदाममा धन्क्याएर बस्नुपरेको सम्झँदै उनले भने, ‘यसपालि माग बढी भएसँगै चिया राम्रैसँग विक्री भइरहेको छ ।’ गतवर्ष भारतीय व्यापारीले आएर ६०/७० रुपैयाँ किलो चिया किन्न मागेका थिए । यसपटक त्यसको मूल्यमा समेत निकै फरक आएकाले आफूहरू निकै उत्साहित भएको बताए ।
नेपालमा उत्पादित चिया ९९ प्रतिशत निर्यात हुन्छ । मुख्यतया भारत, अमेरिका, जापान र चीन नेपाली चिया निकासी हुने गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ । देशभर ६८ ओटा ठूला चिया उद्योग, ९३० अर्थोडक्स, ३८ सीटीसी र १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।
- मूल्य पनि पोहोरको तुलनामा धेरै
- नेपाली किसान र निर्यातकर्ता उत्साहित
- खडेरीका कारण उत्पादनमा भने कमी
चिया व्यवसायीका अनुसार गुणस्तर बढाउन सके चियाखेतीलाई दिगो र उच्च आम्दानीको स्रोत बनाउन सकिन्छ । गुणस्तरमा सुधार ल्याएर भारतीय बजारको मात्र भर नपरी नेपाली चियालाई तेस्रो मुलुकमा समेत उच्च मूल्यमा निर्यात गर्न सकिने
सम्भावना छ ।
कोशी प्रदेश नेपालको प्रमुख कृषि उत्पादन क्षेत्र हो, जहाँ चियासहित अन्य कृषि वस्तुको पनि व्यावसायिक खेती हुन्छ । यस प्रदेशले नेपालबाट निर्यात हुने अलैंचीमा ९० प्रतिशत, चियामा ९९ प्रतिशत र अदुवामा ३३ प्रतिशत योगदान दिन्छ ।
नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा चिया उद्योगी सुरेश मित्तल चिया उत्पादन र निर्यातमा देखिएको यो सकारात्मक प्रवृत्तिले उत्साह थपेको बताउँछन् । तर, जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र मौसमी अनिश्चितताले चिया उत्पादनमा चुनौती थप्न सक्ने भएकाले यसतर्फ सरकार र सम्बद्ध निकायको ध्यान जान आवश्यक देखिएको उनले बताए ।
मित्तलका अनुसार नेपाली चियाको गुणस्तर र ब्रान्डिङमा थप लगानी गर्दै विश्व बजारमा यसको स्थान सुदृढ गर्न सके यसले अर्थतन्त्रमा थप योगदान दिन सक्छ । यसका लागि सरकार, निजीक्षेत्र र किसानहरूबीच समन्वय र सहकार्य आवश्यक छ ।
नेपाल र केन्याबाट चिया भारत निकासी बढेपछि दार्जिलिङका चिया किसानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै दुवै देशबाट भारत आइरहेको चिया रोक्न २ महीनाअघि आग्रह गरेका थिए । भारतीय बजारमा नेपालको चियाको न्यून उपस्थितिले त्यहाँको बजारमा खासै असर नपुर्याउने नेपाली किसान तथा व्यवसायीले बताउँदै आएका छन् ।
गतवर्ष चीनमा विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो । उक्त प्रतिस्पर्धामा विभिन्न ब्रान्डका नेपाली चिया पुरस्कृत भएका थिए ।