काठमाडौं । पोखरा-ल्हासा हप्तामा एक उडानको तयारी गरेको हिमालय एअरलाइन्सले पहिलो उडान तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच साप्ताहिक उडान शुरू गर्दै क्षेत्रीय सञ्जाल विस्तार गर्ने तयारी गरेको छ ।
यही मार्च ३१ देखि शुरू हुने नयाँ रुटको उडानमार्फत एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको र यो एअरलाइन्सका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हुने कम्पनी एक विज्ञप्तिमार्फत जनाएको छ । 'हामीले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दैछौं,' विज्ञप्तिमा भनिएको छ ।
प्रारम्भिक योजनाअनुसार काठमाडौं–ल्हासा उडान (एच ९ ७७९) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार ३१ मार्च २०२५ मा बिहान ८:३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–पोखरा उडान (एच ९ ७३२)ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार ३१ मार्च २०२५ मा १३:१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२:४५ मा पोखरा अवतरण गर्नेछ ।
यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (ज्ढ ठघद्द) पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट ०१ अप्रिल २०२५ मा स्थानीय समयअनुसार बिहान ८:२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी उडान (एच ९ ७७५)ले ल्हासा गोङ्गर विमानस्थलबाट ०१ अप्रिल २०२५ मा स्थानीय समयअनुसार १२:३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२:०५ मा काठमाडौं अवतरण गर्नेछ ।
यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने एयरलाइन्सको अपेक्षा छ । हिमालय एअरलाइन्समा यात्रा गर्न चाहने यात्रुहरूले एअरलाइन्सको टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट र हिमालय एअरलाइन्स मोबाइल एप्लिकेसनबाट पनि काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उडानको टिकट बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।