सामान्य अर्थमा, कुनै पनि व्यक्तिले आफ्नो हक, अधिकार र स्वामित्वमा रहेको सम्पत्ति (चल वा अचल) अन्य व्यक्तिका साथै धार्मिक, सामाजिक, सार्वजनिक कार्यका लागि संघसंस्थालाई निःशुल्क रूपमा दिने कार्य नै दान हो भने कुनै पनि व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तरीकाबाट खुशी पारबापत वा पारिवारिक माया ममताका कारण आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बक्सिसका रूपमा निःशुल्क दिने कार्य बकस हो ।
मुलुकी ऐन २०२० मा दान बकसको महलमा यस सम्बन्धमा व्यवस्था गरिए पनि परिभाषा गरिएको थिएन । वर्तमान मुलुकी देवानी संहिताले भने यसको परिभाषासमेत केही नयाँ व्यवस्था गरेको छ ।
मुलुकी देवानी संहिता २०७४ को दफा ४०६ देखि ४१२ सम्म यससम्बन्धी व्यवस्था छ ।
दफा ४०६. दान वा बकस भएको मानिने : (१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यका लागि निःशुल्क रूपमा दिने कार्यलाई दान भनिन्छ । (२) कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिझाएबापत वा पारिवारिक स्नेह वा अनुरागका कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसका रूपमा त्यस्तो व्यक्तिलाई निःशुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ । (३) उपदफा (१) वा (२) बमोजिम दान वा बकस दिँदा वा बकस दिनासाथ वा कुनै निश्चित अवधिपछि वा दान वा बकसपत्र लिने व्यक्तिको मृत्युपछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ । (४) उपदफा ३ बमोजिम दान वा बकस दिने व्यक्तिको मृत्युपछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेषपछिको दान वा शेषपछिको बकस दिएको मानिनेछ ।
दानमा धार्मिक तथा समाज कल्याणको उद्देश्य हुन्छ भने बकसमा त्यो नहुन सक्छ । कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति कुनै व्यक्ति (प्राकृतिक वा कृतिम) लाई दान, बकस गरिदिँदा तत्कालैदेखि वा शेषपछिको हक कायम हुने गरी दिन सक्नेछ । संहिता आउनुअघि शेषपछिको दान दिने व्यवस्था थिएन, संहिताको यो नयाँ व्यवस्था हो । तत्काल हक हुने गरी दान वा बकस गरिदिएकोमा त्यस्तो लिखत पारित भएको मितिदेखि वा लिखतमा नै हक कायम हुने सम्बन्धमा कुनै मिति तोकिएकोमा सोही मितिदेखि नै पाउनेको हक हुन्छ । त्यस्तो लिखतलाई दान वा बकस दिनेले बदर गर्न पाउँदैन ।
कुनै खास कामका लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कुनै व्यक्तिले त्यस्तो कामको निम्ति खास रकम वा सम्पत्ति दान दिने लिखत वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्छ तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा भने कुनै नालिश लाग्न नसक्ने व्यवस्था दफा ४०७ ले गरेको छ ।
कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्ति वा संस्थालाई दान वा बकस दिएकोमा दान वा बकस पाउनेले त्यस्तो दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा, कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दिने व्यक्ति वा पाउने व्यक्ति मरेमा वा विघटन भएमा, गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित नजन्मिएमा, दान वा बकसको काम कारबाही प्रभावकारी नहुँदै दान वा बकसबमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएर गएमा दान वा बकस स्वतः बदर हुने व्यवस्था दफा ४०८ ले गरेको छ ।
कुनै पनि व्यक्तिले आफ्नो हक नपुग्ने अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा तथा कानूनबमोजिम अन्य व्यक्तिको मन्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मन्जुरी नलिई कुनै सम्पत्ति (सगोलको र संयुक्त सम्पत्तिको सम्बन्धमा) दान वा बकस दिएमा, अक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा तथा कानूनले कुनै कार्यविधि तोकिदिएकोमा उक्त कार्यविधि वा रीत नपुर्याई दान वा बकस दिएमा त्यस्तो दान वा बकस बदर गराउन सकिन्छ । तर, बदर गराउन सकिने दान वा बकस बदर नभएसम्म त्यसले कानूनी मान्यता पाउने व्यवस्था दफा ४०९ ले गरेको छ ।
कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिइसकेपछि, शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बद्ध अधिकारीसमक्ष आफै उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्तहरू संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ । त्यसरी शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बद्ध अधिकारीसमक्ष उपस्थित भई छुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनुपर्छ ।
त्यसरी रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउँदाको कार्यविधि अवलम्बन गनुपर्छ । कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति, कानूनबमोजिम उक्त शेषपछिको बकसपत्र रद्द नगराई त्यही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरिदिनु हुँदैन । कानूनको प्रतिकूल हुने गरी दोहोरो शेषपछिको बकसपत्र गरिदिएमा पहिलेको मितिको शेषपछिको बकसपत्रले कानूनी मान्यता प्राप्त गर्छ । पछिल्लो मितिको शेषपछिको बकसपत्र स्वतः अमान्य हुन्छ भन्ने व्यवस्था दफा ४१० ले गरेको छ ।
यदि शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तो शेषपछिको बकसपत्र प्राप्त गर्ने व्यक्तिले, शेषपछिको बकसपत्र दिने व्यक्तिको विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरिएमा शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त गर्न सक्दैन । आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिदेखि २ वर्षभित्र नालिश गर्न सक्ने र सोबाहेक अन्य अवस्थामा यस परिच्छेद बमोजिम भएगरेका कामकारबाहीबाट मर्का पर्ने व्यक्तिले यस्तो कामकारबाही भए गरेको थाहा पाएका मितिले १ वर्षभित्र नालिश गर्न सक्ने व्यवस्था दफा ४१२ ले गरेको छ ।
नेपाली समाजमा पारिवारिक, सामाजिक, धार्मिक भावनाबाट अभिप्रेरित भई परम्परादेखि चलिआएको दान र बकससम्बन्धी कानूनी व्यवस्थालाई वर्तमान मुलुकी देवानी संहिताले केही नयाँ व्यवस्था थप गर्दैै परिमार्जित स्वरूपमा निरन्तरता दिएको छ ।
लेखक अधिवक्ता हुन् ।