काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले डेडिकेटेड र ट्रकलाइन विवादबारे ध्यानाकर्षण भएको भन्दै आफै लाइन विच्छेद गर्ने निर्णयबाट पछि हट्न उद्योगीहरूलाई अनुरोध गरेको छ ।
इप्पानले एक विज्ञप्तिमार्फत पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगहरूले यसको विरुद्ध अन्य उद्योगहरूले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरूलाई चिन्ता बढाएको बताएको छ ।
वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
'सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरूले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ,' इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरू, खपत गर्ने उद्योगहरू र यसको व्यवस्थापन गर्ने विद्युत् प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाइ भैसकेको इप्पानको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निर्णयबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड/बक्यौतालाई लिएर अरू उद्योगहरूको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानले भनेको छ ।
'यसकारण विधि संवाद ढंगबाट यसको समाधान गरी निजी क्षेत्रहरूको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाईदिन आग्रह गर्दछ । साथै द्विपक्षीयबीच छलफल र संवादमार्फत यथाशीघ्र समस्या समाधान गर्नका लागि इप्पान दुवै पक्षलाई हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा थप भनिएको छ, 'अहिले दुवै पक्षबीच देखिएको संवादहिनता र द्वन्द्वको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्बद्ध सरकारी निकायहरूमा पनि इप्पानको तर्फबाट विशेष ध्यानाकर्षण गराउन चाहान्छौं ।'