इण्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट कम्पनीले भारतको टीएलपीएल शिपिङ एण्ड लजिष्टिक प्रालिसँगको सहकार्यमा नेपालका आयातनिर्यात व्यवसायीलाई निकै ठूलो र भरपर्दो सेवा दिन थालेको छ । एउटै बिल अफ लेडिङका माध्यमबाट नेपाली निर्यातकर्ताले आफूले पठाउनुपर्ने सामान आफ्नो फयाक्ट्रीबाट गन्तव्यसम्म पुर्याउन सक्नेछन् । त्यस्तै आयातकर्ताले पनि फ्याक्ट्री वा बजारबाट आफूले ल्याउन चाहेको स्थानसम्म एउटै बिल अफ लेडिङका माध्यमबाट अफ्नो गोदामसम्मै सामान ल्याउन सक्नेछन् । सम्बन्धित कम्पनीले नै सामान ढुवानीको काम सम्हालिदिन्छ । विश्वको ठूलो शिपिङ र लजिष्टिक कम्पनीमा पर्ने ट्रान्सवल्र्ड समूहको सदस्य रहेको टीएलपीएलसँगको सहकार्यले नेपाली आयातनिर्यातकर्ता अब ढुवानीका निम्ति ढुक्क हुने अवस्था आएको छ ।
यो नेपालको ढुवानी व्यवसायमा एउटा नयाँ आयाम पनि हो । नेपालमा सामान ढुवानीको विषय निकै पेचिलो मानिँदै आएको छ । नेपाली व्यवसायीले सामान निर्यात गर्दा होस् वा आयात गर्दा, स्वदेशकै भन्सारमा व्यापारमैत्री वातावरण पाउन सकेका छैनन् । आयात–निर्यातका कागजातमा पनि प्रशासनबाट अनावश्यक दु:ख पाउनु व्यवसायीको नियतिजस्तै भएको छ । त्यसबाहेक कोलकातासम्मको ढुवानीमा सडक र रेलमार्ग उपयोगको झन्झट, भन्सार क्लियरेन्स, सीमा क्लियरेन्स, कोलकाता बन्दरगाहमा गोदाम शुल्क, विलम्ब शुल्क, लोड अनलोड शुल्क र सामुद्रिक ढुवानीका समस्याहरू पनि उत्तिकै आउने गरेका छन् ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक ९, बुधवार २७ भदौ, २०६९