काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रूप दिनेछ ।