कैलालीमा अनुमतिविना वनक्षेत्रमा १ सयभन्दा बढी विदेशी नागरिक देखिए । घोडाघोडी नगरपालिका ९ को सिमली जङ्गलमा बसेका यस्ता विदेशी नागरिक पर्यटक भए पनि ती विनाअनुमति त्यहाँ बसेका थिए । भारत, अमेरिका, चीनलगायत देशका नागरिकको समूहले रेन्बो फेमिली ग्यादरिङ नाममा त्यहाँ रमाइलो गरेका थिए । पैसा खर्च नगर्ने तर मोजमस्ती गर्ने यस्तो समूह नेपाल आउँदा पर्यटनमा कस्तो प्रभाव पर्यो भन्ने विश्लेषण भइसकेको छैन । यस्तो पर्यटनका पछि लाग्दै जाने हो भने मुलुक डम्पिङ पर्यटनको चिनारीमा फस्ने सम्भावना हुन्छ ।
कुनै बेला नेपालको पर्यटन गुणस्तरीय थियो । यद्यपि नेपालमा पर्यटनको शुरूआत नै हिप्पीहरूको आगमनबाट भएको हो । यिनीहरू खासमा पर्यटनभन्दा पनि स्वतन्त्रताको खोजीमा बरालिएर आइपुगेका झुन्ड थिए । तर, यिनैको कारण नेपालमा पर्यटनले व्यापकता पाएको हो । त्यसअघि पर्यटक ज्यादै कम आउँथे तर जति आउँथे ती विशेष खालका हुन्थे । हिप्पीबाट विस्तार भएकै कारणले होला नेपालमा अहिलेसम्म यस्तै खाले पर्यटकको बाहुल्य रहेको छ । तर, यसबारे सावधानी नपनाए गुणस्तरीय पर्यटक गुमाएर डम्पिङ पर्यटन बढ्दो खतरा देखिएको छ । त्यसैले पर्यटनको नीतिकार र रणनीतिकारको ध्यान जानु आवश्यक छ । नयाँ पर्यटन नीतिको खाका बन्दै गर्दा यसलाई पनि ध्यानमा राख्नु आवश्यक छ ।
डम्पिङ पर्यटन के हो ?
डम्पिङ पर्यटन भन्नाले अत्यधिक सस्तो मूल्यमा पर्यटन सेवा उपलब्ध गराइने प्रणालीलाई जनाउँछ । यसमा पर्यटन कम्पनीहरूले ग्राहक तान्नका लागि अत्यन्त न्यून लागतमा यात्रा प्याकेजहरू उपलब्ध गराउँछन्, जसका कारण गन्तव्य मुलुकले पर्यटकबाट उचित आर्थिक लाभ लिन सक्दैन । नेपालजस्ता पर्यटनमा भर पर्ने मुलुकहरूका लागि डम्पिङ पर्यटन तत्कालका लागि उपयुक्त देखिए पनि दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । यस्ता पर्यटकलाई नेपालमा झोले पर्यटक भनिन्छ । तर, डम्पिङ पर्यटन भनेको झोलेमात्र नभएर ज्यादै न्यून लागतमा पर्यटक भित्त्याउने प्रवृत्ति हो । यस्ता पर्यटक आफूले खानेकुरासमेत बोकेर आउँछन् । पैसा तिर्न नपर्ने ठाउँमा मजाले घुम्छन् तर तिनबाट राज्यले कुनै आम्दानी गर्न सक्दैन । नेपाल विश्वमै सस्तो पर्यटन बजार भनेर चिनिएको छ तर पर्यटकको वास्तविक लागत भने महँगो छ । विमान भाडा महँगो भएकाले नेपाल महँगोभित्र नै पर्छ । यद्यपि नेपालका सेवाहरू उपयोग गर्न भने सस्तो पर्छ । खर्च गर्न नसक्ने व्यक्ति कति आएका छन्, तिनले दैनिक कति खर्च गर्नुपर्ने हो जस्ता नीति नभएका कारण डम्पिङ पर्यटकको संख्या बढी भएको हो । यद्यपि हिमाल आरोहण गर्न आउने भने विशेष खालका पर्यटक हुन् । नेपालमा कस्तो पर्यटकलाई डम्पिङ मान्ने भन्ने खासै आधार भने बनिसकेको छैन । यद्यपि बोलीचालीमा भने यो शब्द प्रचलनमा रहेको छ ।
डम्पिङ पर्यटनका कारण
नेपाल विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक हो किनभने उत्कृष्ट गन्तव्यको सूची निकाल्ने विश्वका विभिन्न संस्थाले उत्कृष्ट दशको सूचीमा नेपाल प्राय: छुटाउँदैनन् । अलगअलग शीर्षकमा निकालिने यस्ता सूचीमा नेपाल परिरहेकै पाइन्छ । यो भनेको सित्तैमा नेपालको पर्यटनले पाएको प्रचार हो । तर, यो प्रचारको फाइदा लिन नेपाल चुकिरहेको छ । पर्यटकको संख्या बढेको छ तर अस्वस्थ प्रतिस्पर्धा र तानातानले गर्दा नेपालको पर्यटनले सोचेजस्तो आमदानी गर्न सकेको छैन । पोखरामा आउने पर्यटकलाई बाटैबाट अर्को होटेलमा लैजान दलालहरू लागेको समाचार आउनु डम्पिङ पर्यटन नै हो । डम्पिङ पर्यटन विभिन्न कारणले हुन्छ ।
- डम्पिङ पर्यटन तत्कालका लागि उपयुक्त देखिए पनि दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ ।
- कम लागतमा प्रतिस्पर्धा गर्ने प्रयास डम्पिङ पर्यटनको एउटा प्रमुख कारण हो ।
- नेपाल विश्वमै सस्तो पर्यटन बजार भनेर चिनिएको छ तर पर्यटकको वास्तविक लागत भने महँगो छ ।
- पर्यटन उद्योगलाई व्यवस्थित गर्ने प्रभावकारी नियमनको कमीले डम्पिङ पर्यटन बढेको हो ।
- पर्यटक आगमनमा गुणस्तरको कुरा उठाएर कडाइ गर्न थालियो भने हजारौं होटेल र लाखौं पर्यटन व्यवसायी तत्काल प्रभावित हुने देखिन्छ ।
कम लागतमा प्रतिस्पर्धा गर्ने प्रयास यसको एउटा प्रमुख कारण हो । धेरै टुर कम्पनीहरू ग्राहक आकर्षित गर्न मूल्य अत्यन्त न्यून राख्छन् । सय डलरमा विक्री भइरहेको कोठा २० डलरमा बेच्न तयार भएका होटेल थुप्रै पाइन्छन् । त्यस्तै अनलाइन यात्रा एजेन्सीहरूको प्रभावका कारण पनि डम्पिङ पर्यटन बढ्दो छ । डिजिटल प्रविधिको प्रयोगले गर्दा विश्वव्यापी रूपमा पर्यटक सस्तो प्याकेज खोज्न सक्षम भएका छन् । पहिलाजस्ता निश्चित होटेलमा बुक गरिरहनु पर्दैन । अनलाइनबाट सबै मूल्य हेरेर, सेवा हेरेर छनोट गर्न पाउँछन् । अझ होटेल वा अन्य सेवाको रेटिङ र रिभ्यु पनि हेर्न पाइने भएकाले अहिले पर्यटकले सस्तो सेवा खोज्न पाउँछन् । त्यसले गर्दा प्रतिस्पर्धा बढेको छ र सस्तोमा पर्यटक भित्त्याउन व्यवसायी तयार देखिएका छन् । यसले केही मात्रामा नेपालको पर्यटनलाई फाइदा त भएकै छ । तैपनि प्रतिस्पर्धा रोक्न मिल्दैन र यही प्रतिस्पर्धाले गर्दा डम्पिङ पर्यटनको खतरा भने बढाएको छ ।
सरकारी नियमनको कमीले पनि यस्तो प्रवृत्तिलाई बढावा दिइरहेको छ । नेपालमा पर्यटन उद्योगलाई व्यवस्थित गर्ने प्रभावकारी नियमनको कमीले डम्पिङ पर्यटन बढेको हो भन्न सकिन्छ । कतै कतै व्यवसायीहरूले आफै आचारसंहिता बनाए पनि त्यसको इमानदार कार्यान्वयन भएको छैन । स्थानीय पर्यटन व्यवसायीहरूको कमजोरी डम्पिङ पर्यटनको अर्को कारण हो । विदेशी टुर अपरेटरहरू नेपाली पर्यटन बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएका छन्, जसले गर्दा स्थानीय व्यवसायीहरू संकटमा परिरहेका छन् ।
डम्पिङ पर्यटनको प्रभाव
नेपाल एक प्रमुख पर्यटन गन्तव्य हो । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, हिमालय आरोहण, ट्रेकिङ र धार्मिक स्थलहरूका कारण लाखौं पर्यटक नेपाल आउँछन् । तर, डम्पिङ पर्यटनले नेपालमा नकारात्मक प्रभाव पार्न सक्छ ।
सबैभन्दा ठूलो नकारात्मक असर भनेको पर्यटन क्षेत्रमा यिनले भीडभाड बनाए पनि राज्यले र व्यवसायीले खासै उपलब्धि पाउँदैनन् । संख्यामा गर्व गरेर अर्थतन्त्रमा सहयोग पुग्दैन । अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । अत्यन्त सस्तो पर्यटन प्याकेजका कारण सरकारले अपेक्षित राजस्व संकलन गर्न सक्दैन । त्यस्तै यिनीहरूले गर्ने फोहोर र समाजमा पार्ने प्रभाव पनि विचारणीय हुन्छ ।
त्यस्तै यसरी आउने पर्यटकका कारण स्थानीय पर्यटन व्यवसायीहरू मारमा पर्छन् । विदेशी कम्पनीहरूले सस्ता प्याकेजहरू उपलब्ध गराउँदा नेपाली व्यवसायीहरू प्रतिस्पर्धा गर्न सक्दैनन् । मोलमोलाइ बढी हुन्छ र व्यवसाय जोगाउनकै लागि सस्तोमा प्याकेज विक्री गर्नुपर्ने हुन्छ । एकपटक सस्तोमा सेवा दिएपछि त्यसको मूल्य बढाउन कठिन हुन्छ । सस्तोको ट्याग लागेपछि सधैं सस्तोमै सेवा दिनुपर्ने हुन्छ । यसबाट सेवाको गुणस्तर खस्कन थाल्छ किनभने कम मूल्यमा पर्यटन सेवा प्रदान गर्दा गुणस्तरीय सेवा दिन असम्भव हुन्छ । सेवाको गुणस्तर कमजोर भएपछि पर्यटकको गुनासो बढी सुन्नुपर्छ र त्यसले फेरि पर्यटनमा नै असर पार्छ । सस्तो सेवाको चक्रबाट उम्कन आवश्यक हुन्छ ।
पर्यटकको संख्या बढी भएपछि सामाजिक र पर्यावरणीय असर पर्नु स्वाभाविक हो । तर, यो असरको दाँजोमा आर्थिक लाभ बढी हुने हुँदा पर्यटक आगमनलाई स्वागत गर्ने गरिन्छ । यूरोपका कतिपय शहरमा आर्थिक लाभभन्दा स्थानीयको शान्ति महत्त्वपूर्ण भएको भन्दै भीडभाडयुक्त पर्यटनको विरोधको लहर नै चलेको छ । उनीहरू विभिन्न नियम र शुल्क लिएर यसमा कडाइ गर्दै छन् । सस्तो मूल्यमा धेरै पर्यटक भित्रिनु भनेको प्राकृतिक स्रोतसाधनको दोहन हुनु हो । त्यस्तै स्थानीय संस्कृतिमा प्रभाव पार्नु पनि हो । अत्यधिक पर्यटक आगमनले नेपालको मौलिक संस्कृति, रहनसहन र परम्परामा असर पार्न सक्छ ।
डम्पिङ पर्यटन कि गुणस्तरीय ?
नेपालमा पर्यटन क्षेत्रले जीडीपीमा कति योगदान दियो भन्ने विषयमा भन्दा कति पर्यटक आए भन्नेमै दृष्टिकेन्द्रित रहेको छ । संख्या धेरै आए सरकारले सफलताको जस लिने गरेको समेत देखिन्छ । तर, जीडीपीमा पर्यटनको योगदान कति छ भन्ने सही तथ्यांक सरकारसँग छैन । त्यसैले नेपालमा कस्तो पर्यटनलाई प्राथमिकता दिने भन्ने विषय अन्यौलमै छ । यद्यपि गुणस्तरीय पर्यटनका लागि जोड भने दिइएको छ । पर्यटक आगमनमा गुणस्तरको कुरा उठाएर कडाइ गर्न थालियो भने हजारौं होटेल र लाखौं पर्यटन व्यवसायी तत्काल प्रभावित हुने देखिन्छ । तर, यसो भन्दैमा जथाभावी छाड्दै जाने हो भने रेन्वो फेमिली ग्यादरिङ समूहजस्ता पर्यटकले नेपाल भरिने र समस्या चर्कै हुने सम्भावना हुन्छ ।
डम्पिङ पर्यटनको असर कम गर्न नेपाल सरकारले तथा पर्यटन उद्योगमा संलग्न पक्षहरू सचेत हुनुपर्छ । त्यसका लागि सरकारी नियमन र नीतिगत सुधार पहिलो आवश्यकता हो । नेपाल सरकारले पर्यटन व्यवसायलाई व्यवस्थित गर्न स्पष्ट नीति बनाउनु आवश्यक छ । विदेशी टुर अपरेटरहरूले न्यूनतम मूल्य निर्धारण गर्नुपर्छ भन्ने कानूनी व्यवस्था गर्नुपर्छ ।
स्थानीय पर्यटन व्यवसायीको प्रवर्द्धन हुनुपर्छ । नेपालका टुर अपरेटरहरूलाई सशक्त बनाउन सरकारी सहायता आवश्यक छ । गुणस्तरीय पर्यटन सेवा विकास गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रलाई आकर्षक बनाउन सेवाको स्तर वृद्धि गर्नुपर्छ । नवीनतम प्रविधिको प्रयोग बढाउनुपर्छ । डिजिटल प्रविधिको सही उपयोग गरी नेपालका पर्यटन व्यवसायीहरूले आफ्ना प्याकेजहरू विश्वभर प्रवर्द्धन गर्नुपर्छ ।
नेपालमा डम्पिङ पर्यटनले दीर्घकालीन रूपमा पर्यटन क्षेत्रलाई हानि पुर्याउने खतरा छ । यसबाट बच्न सरकारी निकाय, पर्यटन व्यवसायी, तथा आम नागरिकहरू सबै मिलेर सही नीति निर्माण, स्थानीय व्यवसायको प्रवर्द्धन र गुणस्तरीय पर्यटन सेवाको विकासमा ध्यान दिनुपर्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।