काठामाडौं। मुक्तिनाथ विकास बैंकले धादिङका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले धादिङको रोराङ गाँउपालिका–५ स्थित सुन्दरदीप महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध महिला र थाक्रे गाँउपालिका–१० स्थित ठूलोपोखरीका स्थानीयको सहभागितामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुगेको बैंकको विश्वास छ ।
बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताइएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकमा भौतिक उपस्थितिविनै गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।