काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तरवार्ता र कार्यप्रस्तुति दिएका २ जनाको नाम मात्रै मन्त्रिपरिषद्मा सिफारिस गर्न नमिल्ने राय दिएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिले राय सुझाव मागेपछि महान्यायाधिवक्ता कार्यालयले यस्तो जवाफ दिएको हो । कानुनीरूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने कार्यालयले सुझाव दिएको स्रोतले जनाएको छ ।
त्यस्तै पुनः सूचना जारी गरी तीन जनालाई कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाउन सक्ने विकल्प पनि रहेको कार्यालयले जनाएको छ ।
बोर्ड अध्यक्षका लागि सर्टलिस्ट (छोटो सूची)मा परेका ५ जनामध्ये २ जनाले मात्रै अन्तरवार्ता र कार्यप्रस्तुति दिएपछि सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयको राय मागेको थियो ।
उक्त पदका लागि छोटो सूचीमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिएका थिए । यस्तै, बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईंले अन्तर्वार्ता र कार्यप्रस्तुति दिएका थिएनन् ।