स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पत्ति हो । असल स्वास्थ्यविना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्षहरू हुन्छन् । प्रतिकारात्मक, प्रवर्द्धनात्मक वा उपचारात्मक सबै पक्षहरूको महत्त्व असल स्वास्थ्य प्राप्तिका निम्ति उत्तिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तिनै पक्षहरूलाई समेट्नुपर्छ । हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषका रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ ।
अमेरिकी महादेशमा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ । यूरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको शुरुआत गरेका हुन्, जुन करीब १६औं शताब्दी तिर पर्छ । अमेरिकी रेड इन्डियनहरूले धूम्रपान गर्ने नाली (पाइप)लाई टोवागो भन्छन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे । कालान्तरमा यही बिरुवाको नाम निकोटिन रहन गयो । बिरुवाको पातको सेवनलाई लोकप्रिय बनाउने फ्रेन्च नागरिक ज्याँ निकोटको नामबाट निकोटियाना बन्न गएको हो । सुर्तीको बिरुवा शुरूमा यूरोपमा औषधिका रूपमा भित्त्याइएको थियो । त्यतिबेला पनि यूरोपमा सुर्तीलाई राम्रो मानिएको थिएन । टर्कीमा धूम्रपान गर्नेहरूका लागि मृत्युदण्डसमेत दिने चलन थियो । रसियाका बादशाहले धूम्रपान गर्नेको नाक चिर्ने, कोर्रा लगाएर साइबेरियामा निर्वासित गर्ने तजविज गरेका थिए । चुरोटको धूँवामा शरीरलाई असर गर्ने ४ हजार रासायनिक तत्त्वहरू रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्त्वहरू कार्बनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन् ।
धूम्रपानका अम्मलीहरू विशेष गरी बेरोजगारी र गरीबीको कारण यससँग झुन्डिएका छन् । मानिस गरीब तथा बेरोजगार भएपछि विविध पीरचिन्तामा डुब्ने गर्छ र त्यसबाट मुक्ति पाउन धूम्रपानतिर लाग्छन् । यसले उनीहरू बिरामी हुन्छन् र पैसा खर्च गरेर उपचार गर्नुपर्ने अवस्था सृजना हुन्छ ।
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती र सुर्तीजन्य पदार्थको प्रयोगले हुन्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु विश्वमा सुर्तीजन्य पदार्थका कारणले हुन्छ । विश्वमा धूम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिण पूर्वी एशियामा अवस्थित छ । विशेषत: नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढी मात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या धेरै मात्रामा छ । सुर्तीजन्य पदार्थका कारणबाट लाग्ने रोगका रोगीको संख्या नेपालमा अधिक मात्रामा रहेको छ । चुरोट, बिँडी, तमाखु सेवनका कारण दम, फोक्सोको रोग, अपच, फोक्सोको क्यान्सरजस्ता रोग तथा सुर्ती सेवनका कारण गालाको क्यान्सर, मुखको क्यान्सर, दाँत तथा गिजारोग आदि लाग्ने गरेको छ । त्यसको उपचारमा धेरै धनराशी खर्च हुन्छ ।
त्यसभन्दा बाहेक सुर्तीजन्य पदार्थको सेवनबाट महिला तथा पुरूषमा बाँझोपनसमेत अधिकमात्रामा लागेको पाइन्छ । त्यस्तै क्षयरोग, मिर्गौलाको रोग, श्वासप्रश्वास सम्बन्धी रोग आदि धूम्रपानको उपज हो भन्नुमा कसैको दुईमत नहोला । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा रहेको १.२ अर्ब सुर्तीका अम्मलीमध्ये पाँचांै भाग अम्मलीहरू रहेको भारतमा मात्र सुर्ती सेवनका कारण वर्षेनि ६ लाख नाबालिग केटाकेटीसमेत सुर्तीका अम्मली भइसकेका छन् भने सुर्ती सेवनले गर्दा विश्वमा वर्षेनि ३५ लाख मानिस मर्छन् ।
आजका युवा छातीमा जोस र पाखुरामा बल हुँदाहुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोसको दम्भलाई कामको भारीले थिचेर पाएको थोरथोरै पैसाको पश्चात्तापले बाध्य भई विभिन्न अम्मलीमा फसेको पाइन्छ । अन्तरराष्ट्रिय श्रम संगठन आईएलओले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वको बेरोजगारी दर १३ दशमलव १ प्रतिशत भएको देखाएको पाइन्छ । नेपालको संविधानको धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको पाइन्छ । देशमा रोजगारी नपाएर बाध्य भई वैदेशिक रोजगारमा जाने क्रम धेरै भई आफ्नै देशमा वृद्ध बाबुआमा मात्र घरमा छन् । कृषियोग्य भूमि बाँझिई खर्बौं नोक्सानी भएको छ । दैनिक करीब १ हजार ५०० भन्दा बढी युवा विदेशिने गरेका छन् । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरूलाई शीप र रोजगारीको अवसर प्रदान गर्ने ध्येय राखे पनि त्यसअनुसार हुने छाँटकाँट छैन । त्यसैको फलस्वरूप उचित रोजगारीको अभावले युवाहरू विभिन्न अम्मलतिर लागी बरालिँदै छन् । यसै कारण आर्थिक अभाव भई देश आर्थिक समृद्धिमा अगाडि बढ्न नसकी दलदलमा फस्न सक्ने सम्भावना छ । अत: बेलैमा युवाहरूलाई शीपमा दक्ष गराई युवाशक्तिलाई रोजगारी दिनु आजको आवश्यकता हो ।
चुरोट, बिँडी, तमाखु सेवनका कारण दम, फोक्सोको रोग, अपच, फोक्सोको क्यान्सरजस्ता रोगहरू तथा सुर्ती सेवनका कारण गालाको क्यान्सर, मुखको क्यान्सर, दाँत तथा गिजारोग आदि रोगहरू लाग्ने गरेका छन् । त्योे उपचारमा धेरै धनराशी खर्च हुन्छ ।
धूम्रपानका अम्मलीहरू विशेष गरी बेरोजगारी र गरीबीको कारण यससँग झुन्डिएका छन् । मानिस गरीब तथा बेरोजगार भएपछि विविध पीरचिन्तामा डुब्ने गर्छ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धूम्रपान गर्छन्, जसबाट स्वास्थ्यमा असर पर्न गई पुन: बिरामी पर्छन् र पैसा खर्च गरेर उपचार गर्नुपर्ने अवस्था सृजना हुन्छ । समाजमा धूम्रपानको अधिक अम्मली बनाउनमा प्रमुख भूमिका समुदायका अभिभावक वा प्रतिष्ठित व्यक्तित्वहरूको समेत रहेको पाइन्छ । जब हजुरबुबाले नातिलाई तमाखु भर्न सक्ने हुँदा नहुँदै हुक्का पाइप, पानी भर्न र चिलिममा तमाखु टाँस्न व्यस्त गराउँछन् र आफू सोखले नलीमका मुख लगाएर गडगडाउँछन् । हामी कल्पना गरौं त्यो अबोध बाल मस्तिष्कमा कस्तो छाप पर्छ होला ? आमा मेलापात जाँदा सिरानीबाट चुरोट र सलाई झिकेर लगिदिने काम विद्यालय जानुभन्दा अघि छोरीको हुन्छ भने विद्यालयबाट फर्कदा बेलुका बाबुआमालाई चुरोट र हजुरबुबालाई तमाखु किन्ने काम छोराको हुन्छ । एउटी आमा अबोध दूधे बालकलाई दूध चुसाउँदै बिँडीको धूँवा उडाइरहेकी हुन्छिन् । पाँचतारे होटेलदेखि छाप्रे रेस्टुराँसम्म १ बोतल बियर फोरेर चारओटा चुरोट सल्काउँछन् र कोठामा बाक्लो कुहिरो फैलाउँछन् । यस प्रकारको वातावरणमा हुर्केको एउटा बालक अब कसरी धूम्रपानको अम्मली नबनी रहन सक्छ ?
समुदायमा धूम्रपान गर्नेहरूमध्ये निरक्षर र बेरोजगार युवाको संख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरता र बेरोजगारीलाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ । राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्त्व छ भनी बुझ्नु नितान्त जरुरी छ । समुदायका गुरुहरू अभिभावकसँग विद्यार्थीको असल भविष्यको कुरा गर्दा चुरोट तानिरहेका हुन्छन् र विद्यार्थीलाई कक्षामा धूम्रपान गर्नु हुँदैन भनिरहेका हुन्छन् । शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धूम्रपान विरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्छ । धूम्रपान शुरुआत गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको युवाको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ ।
विभिन्न व्यक्ति समाजमा आफ्नै किसिमको स्वभाव लिएर जन्मेको हुन्छ । त्यसैले त भनिन्छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि । त्यस्तै मानिसका सोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिक रूपले स्वस्थ भएर बाँच्नका लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धूम्रपान गर्ने व्यक्तिहरू केही न केही रूपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृति देखाइरहेको हुन्छ । धूम्रपानको असरलाई कम गर्न यसका विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेलजस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ, किशोरवयको समयमा धूम्रपानको शुरुआत गर्ने भएकाले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ ।
साथै, धूम्रपानको कुलतमा नफस्नका लागि धूम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनुपर्छ । विशेषत: आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने हुनाले घरपरिवारमा ठूलाबडाले धूम्रपान गर्नु हुँदैन । पीर, चिन्ता हटाउन धूम्रपानले सहयोग गर्छ भन्ने भ्रम हटाउनुपर्छ । धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सर जस्ता रोग लाग्ने भएकाले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमबाट धूम्रपानविरोधी प्रचारप्रसार गर्नुपर्छ । धूम्रपानसम्बन्धी भड्किला विज्ञापनहरू छाप्न र प्रसारण गर्न बन्द गराउनुपर्छ । धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रका होनहार युवावर्गमा समेत परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे प्रचारप्रसार गर्नुपर्छ । यसमा हामी सबैको महत्त्वपूर्ण भूमिका हुन्छ ।
लेखक गुणस्तर जीवनसम्बन्धी विषयमा विद्यावारिधि हुन् ।