‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:’को मान्यतालाई आत्मसात् गरेको पूर्वीय हिन्दु धार्मिक र आध्यात्मिक दर्शनमा अगाडि बढेको नेपाली समाजभित्रका महिला समान लैङ्गिक विकास तथा सशक्तीकरणको हरेक सूचकमा कसरी र किन पछाडि परे ? परम्परादेखि नै परिवार र समाजमा उच्च स्थान प्राप्त गरेर आदरणीय, पूजनीय स्थानमा रहेका महिला समाज रूपान्तरणका क्रममा समान सहयात्री तथा नेतृत्वकर्ताको स्थानबाट दोस्रो जातिमा कसरी रूपान्तरण भए ? यो अवस्थाको सृजना कसरी र के कारणले गर्दा भयो ? नेपाली समाजमा दिगो रूपमा महिला समानता र महिला सशक्तीकरण गर्ने लक्ष्यअनुसार प्रगति गर्न उपर्युक्त प्रश्नहरूको उत्तर खोज्न जरुरी छ ।
कुनै पनि विषयवस्तुमा विकास गर्ने लक्ष्य राखेर शुरू गरिएका योजना सफल कार्यान्वयन गर्न तथा लक्ष्यअनुसार प्रगति गर्न मुख्य बाधक तत्त्वको पहिचान गरेर त्यसलाई केन्द्रविन्दुमा राखेर मात्रै विकासका लागि रणनीति तर्जुमा गर्नुपर्छ । संविधानले मौलिक हक र राज्यका नीतिनिर्देशक सिद्धान्तमा व्यवस्था गरेबमोजिम महिला हक, अधिकार सुनिश्चितताका लागि तर्जुमा भएका विद्यमान राज्यको कानून, नीतिनियमहरूको प्रभावकारी कार्यान्वयन गर्न, देशविदेशमा भएका सफल अभ्यासलाई निरन्तरतासँगै दूरदराजकोे दुर्गम बस्तीका झोपडीहरूमा बस्ने विपन्न परिवारका महिलासम्म पुग्ने गरी विस्तार, स्तरोन्नति गरेर, वित्तीय सेवामा सहजै पहुँच गराएर उनीहरूको वित्तीय साक्षरता र उद्यमशीलतामा वृद्धि गरी महिलाहरूको आयस्रोत र आम्दानी वृद्धि गर्न गराउन सकेमा मात्रै आम नेपालीकोे शत्रु गरीबीलार्ई निरन्तर रूपमा कमी ल्याउन तथा नियन्त्रण गर्न सकिनेछ । त्यसपछि मात्रै हाम्रो समाजमा महिला समानता र दिगोरूपमा महिला सशक्तीकरण गर्न सम्भव छ ।
महिला सशक्तीकरणको अवस्था
नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या २ दशमलव शून्य ८ प्रतिशत तथा करीब ७ लाखले बढिरहेको छ । पुरुषवादी समाज भएका कारण महिला सामाजिक, आर्थिक र राजनीतिकलगायत सबै क्षेत्रको विकासका सूचकमा पछाडि परेका छन् । कागजमा लैंगिक समानता केही राम्रो देखिए तापनि व्यहारमा महिला पुरुषबीचको असमानता धेरै छ । वैदेशिक रोजगारीमा रहेका २१ लाख ९० हजार ५९२ मध्ये पुरुष ८१ दशमलव २८ प्रतिशत र महिला १८ दशमलव ७२ प्रतिशत रहेका छन् । सम्पत्तिमा स्वामित्व हुने महिला ९ दशमलव ७ प्रतिशत मात्रै छन् भने ७४ दशमलव ६ प्रतिशत महिलाको नाममा घरजग्गा केही पनि छैन । ३१ दशमलव ५ प्रतिशत मात्र महिला घरमूली रहेका छन् । आर्थिक उपार्जन नगर्ने महिला ४२ दशमलव ९ प्रतिशत रहेका छन् भने आर्थिक उपार्जन गर्नेमध्येका ५६ दशमलव ९ प्रतिशत कृषि र २६ दशमलव ९ प्रतिशत अन्य काममा लागेका छन् । यस्तै ३२ दशमलव ४ प्रतिशत महिला घरधन्दा र ९ दशमलव ८ प्रतिशत महिला पारिवारिक कारणले निष्क्रिय बस्न बाध्य रहेको जानकारी देशभित्र पछिल्ला प्रकाशनहरूको अध्ययनबाट थाहा पाइन्छ ।
महिला नेतृत्वबाट महिलासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन सम्भव छ । सबै महिलाको आर्थिक सम्पन्नता, महिला नेतृत्व, महिला कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै लैंगिक समानता र दिगो महिला सशक्तीकरण प्राप्त हुनेछ ।
दिगो सशक्तीकरणका लागि सबैभन्दा पहिला व्यक्तिको क्षमता वृद्धि, पारिवारिक तथा सामाजिक वातावरणले धेरै हदसम्म प्रभाव पार्छ । नेपाली समाजलाई अझै पनि व्यापक रूपमा रहेको गरीबी, पछौटेपन, अन्धविश्वास, कुरीति र कुसंस्कारका चक्रबाट पूर्णरूपमा मुक्त गराउन आवश्यक छ । पारिवारिक तथा सामाजिक वातावरणको कारण लैंगिक हिंसा, मानव बेचबिखनजस्ता घटना छ्यापछ्याप्ती दैनिक समाचारमा आइरहेका छन् । संवैधानिक व्यवस्थाबमोजिम तर्जुमा भएका नीतिनियम र कानूनी व्यवस्थाले सृजना भएको बाध्यात्मक अवस्थामा राजनीतिक सहभागिता कागजमा केही राम्रो देखिए तापनि यथार्थमा धेरै असमानता रहेको छ ।
अझै पनि नेपाली समाजमा प्रकृतिले बनाएका दुई जात महिला र पुरुषमध्ये महिलालार्ई सबै क्षेत्रमा दोस्रो दर्जामा राख्ने र पार्ने गरेको पाइन्छ । कानूनी व्यवस्थाका कारण बाध्य भएर व्यवस्था गरेका पदहरूमा समेत अधिकांश स्थानमा महिलाहरूलाई दोस्रो स्थानमा राख्ने तथा त्यस्तो व्यवहार गर्ने गरेका कारण उनीहरूको विकास कम भएको मान्न सकिन्छ । अधिकांश नेपाली परिवारहरूले छोराको जन्म दिनुलार्ई गर्व गर्ने, भोजभतेर आयोजना गर्ने र वंश बढ्यो भनेर कुलपूजा गर्दा बोका (बाख्रा) बलि दिनेजस्ता व्यवहार प्रचलनमा छन् । छोरीको जन्ममा न त भव्य खुशी मनाइन्छ न त कुलपूजामा बोका (बाख्रा) नै बलि दिइन्छ । उल्टै छोरी जन्माएको निहुँमा सुत्केरी आमा र बच्चाले राम्रो स्याहारसुसार नपाउने, श्रीमान्ले घर छोड्ने, झगडा गर्ने अर्को विवाह गरेर सौता हाल्नेजस्ता असभ्य व्यवहार गर्ने गरेको पाइन्छ । परिवारमा छोरा र छोरीको जन्म हुँदा बच्चाको आमालार्ई समेत कतै कतै भेदभाव गर्ने गरेको पाइन्छ । छोरा जन्माउने महिलालार्ई पोसिला खाने कुरा यथेष्ट खुवाउने गरिन्छ भने छोरी जन्माउने आमालार्ई सुत्केरी अवस्थादेखि नै आमा र बच्चा दुवैको स्याहारसुसारमा फितलो हिसाबले गरेको देखिन्छ । ग्रामीण अशिक्षित विपन्न समुदायमा छोरा जन्माउने आशामा धेरै सन्तान जन्माइरहेका छन् भने शहरी शिक्षित र सम्पन्न परिवारमा गर्भमा नै लिंग पत्ता लगाएर छोरी भएमा गर्भपतन गराएर छोरीको जन्मलार्ई नै निषेध गर्ने गरेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार छोरीको जन्मदर ५ प्रतिशतले कमी आएको छ । धेरैपटक गर्भपतन गराउनाले महिलाको स्वास्थ्य अवस्था झनै कमजोर हुँदै गएको पाइन्छ ।
महिला समानता र सशक्तीकरणमा दिगो विकासका लागि त हरेक महिलाले आत्मसम्मान महसूस गर्न पाउनुपर्छ । सशक्तीकरणका लागि हरेक महिलाले आफ्नो शरीर, सम्पत्ति र शक्तिमा आफ्नो नियन्त्रणमा रहेको महसूस गर्नुपर्छ । यसका लागि त महिला हक, अधिकार र सशक्तीकरण कागजमा होइन, व्यवहारमा आउन आवश्यक छ । हाम्रो समाजमा सामान्य गृहिणी महिलादेखि सम्मानित ओहदाको जिम्मेवारीमा रहेका सबै महिला हिंसाको शिकार हुनु परेको छ । गतवर्ष मात्रै ८१३ ओटा मानसिक यातना, ४९२ कुटपिट र ५३४ आर्थिक यातनाका निवेदन दर्ता भएका छन् । अत्यन्तै न्यून महिलाले मात्रै आँट गरेर उजुरी तथा निवेदन दर्ता गर्ने गरेका छन् । महिला लक्षित कानुन न महिलाको कानमा परेको छ, न आँखामा परेको छ, न त व्यवहारमा कतैबाट महसूस गर्न नै पाएका छन् । त्यसैले, घरघर र टोलटोलबाट महिला सशक्तीकरणको अभियान चलाउन आवश्यक छ । महिला सशक्तीकरणको आवाज राजनीतिक दलले जस्तो नारामा होइन, स्याहारसुसार, पालनपोषण, शिक्षादीक्षा, विवाह, सम्पत्तिमाथिको अधिकार र पारिवारिक जीवनशैलीमा नै अग्रगामी परिवर्तन आवश्यक छ । यसले रोजगारी/स्वरोजगारी अवसर वृद्धि गर्दै उनीहरूलार्ई उद्यमशील बनाएर आर्थिक रूपमा सशक्त बनाउनुपर्छ । जब महिला आर्थिक दृष्टिले सशक्त हुन्छन् तब संवैधानिक तथा कानूनी व्यवस्था व्यवहारमा उत्रन्छ । अरूले टाँसिदिएको सशक्तीकरण दिगो हुँदैन । दिगो सशक्तीकरणका लागि त महिलालार्ई वित्तीय शिक्षा, व्यावसायिक शीप र साक्षरतामा सक्षम बनाउँदै वित्तीय सेवाको सहज पहुँच गराएर महिला उद्यमी नेतृत्वको विकास र विस्तार आवश्यक हुन्छ ।
वित्तीय सेवामा पहुँच तथा साक्षरता
देशको कुल जनसंख्यामध्ये आधा आकाश तथा त्योभन्दा बढी भाग ओगटेका महिलाको चौतर्फी विकासविना देशको विकास असम्भव नै छ । शासक वर्गले कानूनी रूपमा जेजति व्यवस्था गरे पनि गैरसरकारी संस्थाले जेजति सशक्तीकरण र जनचेतनाका लागि रकम खर्चिए पनि महिला समानता र सशक्तीकरण अपेक्षाबमोजिम नभएको तितो सत्यलार्ई सबैले स्वीकार्नुपर्ने हुन्छ । देशमा कुनै पनि वर्ग र परिवारमा महिला समानता र सशक्तीकरण विकास गर्न उनीहरूको चौतर्फी विकासका लागि पहिलो आधार वित्तीय साक्षरतामा स्तरोन्नति गर्दै वित्तीय सेवासुविधाको पहुँचमा वृद्धि गरेर उद्यमशीलता वृद्धि गर्नु हो । जबसम्म लक्षितवर्ग वित्तीय साक्षरता र वित्तीय सेवासुविधाको पहुँचमा हुँदैनन् तबसम्म जो कसैको पनि आर्थिक विकास असम्भवजस्तै हुन्छ । आर्थिक अवस्था र कारोबारमा सुधार गरी आर्थिक रूपमा सक्षम बनाएसँगै सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थामा पनि सुधार आउने कुरा ३ दशकअगाडि महिला वर्गलार्ई लक्षित गरी शुरू भएको लघुवित्त सेवा सञ्चालनबाट व्यावहारिक रूपमा प्रमाणित भएको छ ।
लघुवित्त सेवा
लघुवित्त सेवाले विशेषगरी महिला, विपन्न, बेरोजगार भएर केही स्वरोजगार पेशा व्यवसाय सञ्चालन गरी आयआर्जन गरेर स्वरोजगार गर्नसक्ने भईकन पनि आफ्नो अवस्था सुहाउँदो वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेका गरीब परिवारका महिलाहरूलार्ई समूहमा आबद्ध गराएर विनाधितो समूह जमानीमा घरदैलोमै ससानो कर्जा उपलब्ध गराउँछ । ससानो अनिवार्य र ऐच्छिक बचत गर्न उत्प्रेरणा गरेर बचत सुविधा प्रदान गर्ने, समूह सदस्य र उनीहरूको परिवार सदस्य, पशुधन व्यवसायका साथै स्वास्थ्य जोखिमबाट सुरक्षा प्रदान गर्न लघुबीमा सेवाका लागि मध्यस्थताका काम गर्ने तथा वैदेशिक रोजगारीमा गएकाले पठाएको आम्दानी घरदैलोसम्म पुर्याउनेलगायत सेवा लघुवित्तले प्रदान गर्दै आएको छ । विपन्न वर्गको आर्थिक रूपान्तरणको प्रक्रियामा लघुवित्त सेवा तुलनात्मक रूपमा बाँकी सबै वित्तीय सेवाभन्दा धेरैै प्रभावकारी भएको छ । समूहमा आबद्ध हुन, व्यवसाय सञ्चालन तथा प्रर्वद्धन गर्नका लागि कर्जा लिन, नियमित बचत गर्न र बीमा गराउन सेवा प्रदान गर्नु अघि र पछि निरन्तर उत्प्रेरणा गरेर वित्तीय साक्षर बनाउँदै आएको छ । त्यस्तै आर्थिक, व्यावसायिक शिक्षा प्रदान गरेर वित्तीय साक्षरता, उद्यमशीलतामा अभिवृद्धि गराउनेजस्ता कामसमेत गर्दै आएको छ । त्यसैले लघुवित्त सेवालाई वित्तीय पहुँचको सेवा मात्र नभएर विशुद्ध सामाजिक सेवा पनि हो भन्न सकिन्छ ।
विसं २०३० को दशकबाट प्राथमिकता क्षेत्र कर्जा तथा साना किसान विकास आयोजना कार्यक्रमबाट गरीब परिवारले कर्जा सेवा पाउने गरी लघुवित्त सेवाको शुरुआत भएको पाइन्छ । २०४६ सालको प्रजातान्त्रिक व्यवस्था पुन: स्थापनापश्चात् २०४९ मा डा. हरिहरदेव पन्तको नेतृत्वमा निर्धन संस्थामार्फत ग्रामीण बैंकिङ प्रणालीमा विनाधितो महिला समूहलार्ई कर्जा लगानी गरेपछि अर्थात् सन् १९९० दशकदेखि लघुवित्त सेवाले विशेष गति लिएको पाइन्छ । तत्कालीन सरकारले महिला सशक्तीकरण र गरीबी न्यूनीकरणका लागि लघुवित्त सेवालार्ई एक अस्त्रको रूपमा अगाडि सारेअनुरूप यसको शुरुआत र विस्तार भएको हो । विपन्न गरीब, भूमिहीन सुकुमबासीलार्ई विनाधितो कर्जा दिएर उद्यमशील बनाउन, घरेलु कुटिर साना उद्यमको विकास गरेर राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले सामाजिक सेवाका रूपमा तथा वैकल्पिक वित्तीय सेवाका रूपमा लघुवित्तलार्ई अगाडि बढाइएको हो । हाल नेपालमा ५७ ओटा लघुवित्त वित्तीय संस्थाहरूले करीब ६० लाखभन्दा बढी विपन्न परिवारलार्ई लघुवित्त सेवा प्रदान गरिराखेका छन् । त्यस्तै ग्रामीण क्षेत्रमा हजारौंको संख्यामा समुदायमा आधारित संस्था तथा सहकारीहरू पनि लघुवित्त सेवा क्षेत्रमा समर्पित छन् ।
महिला सशक्तीकरणमा लघुवित्त
ग्रामीण बैंकिङ पद्धतिमा सञ्चालित निर्धनलगायत लघुवित्त संस्थाले महिलालार्ई लक्षित गरी महिलाहरूको समूह गठन गर्ने, तिनलार्ई ७ दिनसम्म अनिवार्य तालीम प्रदान गर्ने, तिनको घरआँगनमा वित्तीय तथा व्यावसायिक साक्षरताका कक्षा सञ्चालन गर्ने तथा व्यावहारिक अभ्यास गराउने गर्छ । बचत गर्न सिकाउने, कर्जा माग गर्ने, सदुपयोग गर्ने, कर्जा साँवाब्याज किस्ताका बारेमा जानकारी गराउने, पदाधिकारी समूह सदस्यको कामकर्तव्य जिम्मेवारी बुझाउने, समग्रमा लघुवित्त सेवा सम्बन्धमा साक्षर गराएर गाउँघरमा नै बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । यसरी घरदैलो गाउँघरमा नै लघुवित्त सेवा प्रदान गर्दा घर, गाउँबाट टाढा जान नपाउने, नभ्याउने महिला वर्गले सहज रूपमा बैंकिङ सेवा लिन सफल भएका छन् । आफ्नो नाममा बचत खाता खोली नियमित रूपमा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि सोच्न सक्ने भएका छन् । विनाधितो कर्जा लिएर पेशा सञ्चालन गरी स्वरोजगार भएका छन् त कतिले श्रीमान् तथा छोराछोरीका लागि पेशा तथा व्यवसाय सञ्चालन गर्न रकम उपलब्ध गराएका छन् । यसरी परिवारको लागि बचत गर्ने, आफू र परिवार सदस्यका लागि आवश्यक पर्ने कर्जा उपलब्ध गराउने, उक्त कर्जाको किस्ता बुझाउने गर्नाले परिवारको आर्थिक कारोबारको मुख्य वाहक महिला नै हुन पुगेको पाइन्छ । यसले गर्दा लघुवित्त समूहका महिला सदस्यहरू आफैले घरगृहस्थीमै रहेर पनि आम्दानी वृद्धिका लागि सानोतिनो व्यवसाय सञ्चालन गर्ने, घरमा लोग्ने मानिसको अनुपस्थितिमा पूरै परिवारको आर्थिक कारोबार कुशल रूपमा सञ्चालन गर्न सक्षम हुनुका साथै आफूले शुरू गरेको व्यवसायमा आफू, आफ्नो परिवारका साथै अरू मानिसलार्ई पनि रोजगार दिन सफल भएको पाइन्छ । यसरी महिलाहरूको आम्दानी वृद्धिसँगै उनीहरू आर्थिक रूपमा सक्षम हुँदै गएका छन् । सम्पत्तिमाथि उनीहरूको अधिकार बढ्दै गएको छ ।
लघुवित्त सेवाको माध्यमबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता र वित्तीय अवस्थाको सुधार भएसँगै उनीहरूको आर्थिक तथा सामाजिक मानप्रतिष्ठा बढेर गएको छ ।
लघुवित्त सेवामार्फत महिलाहरूमा वित्तिय साक्षरताको स्तर बढेको छ । उनीहरू कसरी आय आर्जन गर्ने, आम्दानी वृद्धि गर्ने, कसरी बचत गर्ने, बचतको सुरक्षा कसरी गर्ने, कसरी लगानी गर्ने, कसरी तिर्ने जस्ता वित्तीय शिक्षाबाट उनीहरूमा आर्थिक सशक्तीकरण भएको मान्न सकिन्छ । यसरी उनीहरू समूहमार्फत आर्थिक कारोबारबाट सबल हुँदै समूह बैठकमा बसेर आफ्ना कुराहरू राख्न, समूहमा बोल्न सिक्दै गएका छन् । पालैपालो समूह, केन्द्रको नेतृत्व गर्नसमेत अभ्यस्त हुँदै गएका छन् । सानो समूह र धेरै समूह भएको केन्द्रको नेतृत्वको अभ्यास गर्ने क्रममा उनीहरू समूह केन्द्र हुँदै गाउँ जिल्ला र देशकै कुशल नेतृत्व गर्न सक्षम भएका छन् । यसबाट लघुवित्त सेवाका कारण महिलाहरूको नेतृत्व गर्ने क्षमतामा वृद्धि भएकोे स्पष्ट हुन्छ ।
आम्दानी बढ्नु, परिवारको नेतृत्व महिलाहरूमा हस्तान्तरण हुँदा बालबच्चाको शिक्षा, पालनपोषणमा सुधार र उपभोग ढाँचामा सकारात्मक परिवर्तन आएको छ । समान ज्यालाका लागि महिलाहरू सचेत भएका छन् । महिलाहरू आयआर्जनमा सक्रिय भएर परिवारको आम्दानी बढाउन थालेपछि लोग्ने मानिशहरूले महिला तथा छोरीप्रति गर्ने व्यवहारमा परिवर्तन आएको छ । महिलाहरूको आयमा परिवर्तनसँगै सुविधाका सामानहरूको उपभोग बढेर गएको छ । जसले गुणस्तरीय जीवनमा सहयोग पुगेको छ । महिलाहरूमा आत्मविश्वास बढेर गएको छ परिवारको आम्दानी बढाउन मैले पनि केही गर्नुपर्छ, स्वनिर्भर हुनुपर्छ, छोरीलार्ई पनि शिक्षा पूरा गराएर र आत्मनिर्भर बनाएर मात्रै विवाह गरिदिन पर्छ जस्ता चेतनाको अभिवृद्धि समाजमा भएको मान्न सकिन्छ । आर्थिक निर्णयहरूमा महिलाहरूको सहभागिता बढेको छ । पुरुषहरू महिलाहरूसँग आर्थिक कारोबार गर्नुअगाडि छलफल गर्न थालेका छन् जसबाट परिवारमा सुमधुर सम्बन्धको विकास भएको छ । महिलाहरूले लघुवित्त संस्थाबाट विनाधितो कर्जा ल्याइदिएर बाटो खर्च जोहो गरिदिएर पुरुषहरूलाई वैदेशिक रोजगारमा पठाएका छन् जसबाट परिवार तथा राष्ट्रकै आम्दानी बढेर गएको छ । हिजोसम्म बिहानसाँझ हातमुख जोड्न अप्ठ्यारोमा भएका परिवारहरू आज आर्थिक उन्नति गरेर सुखी जीवन बिताउन पाएका छन् ।
यसरी लघुवित्त सेवाको माध्यमबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता र वित्तीय अवस्थाको सुधारसँगै उनीहरूको आर्थिक तथा सामाजिक मानप्रतिष्ठा बढेर गएको छ । परिवार, समाज तथा देशमै महिला नेतृत्वको राम्रो विकास भएको छ । छोरीलार्ई पनि छोरासरह पालनपोषण, शिक्षा, स्वास्थ्य तथा पैतृक सम्पत्तिको हक स्थापित हुँदै गएको छ । कानून तथा कागजमा व्यवस्था भएको आफ्नो हकबमोजिम समान सहभागिताको अवसरका लागि लघुवित्तका सेवाग्राही महिलाहरू घरपरिवारबाट बाहिर आएर सडकदेखि सदनसम्म आवाज बुलन्द गर्न थालेका छन् ।
निष्कर्षमा अन्य महिलाको तुलनामा वित्तीय सेवाको पहुँचमा रहेका, वित्तीय तथा व्यावसायिक साक्षरताको ज्ञान पाएका महिला उद्यमी बनेर आयआर्जनमा सक्रिय भएकाले गर्दा उनीहरूको पारिवारिक तथा सामाजिक अवस्था सम्मानजनक भएको देखिएको छ । उनीहरूको परिवारमा लैंगिक भेदभाव शून्यप्राय: रहेको छ । आयआर्जन गर्ने महिलाको नियन्त्रणमा पारिवारिक सम्पत्ति र शक्ति रहेको छ । आर्थिक अवस्थाको सुधारसँगै सामाजिक तथा राजनीतिक नेतृत्वमा उनीहरूको सहभागिता सम्मानजनक रहेको छ । महिला समानता र दिगो सशक्तीकरण गर्न वित्तीय सेवामा महिलाहरूको सहजै पहुँच आवश्यक छ । यसबाट महिलाहरूमा वित्तीय तथा व्यावसायिक साक्षरता वृद्धि गरी उद्यमी बनाई महिला सशक्तीकरण प्रभावकारी रूपमा गर्न सकिन्छ । यो कार्य अन्य वित्तीय संस्थाको तुलनामा लघुवित्त संस्थामार्फत नै प्रभावकारी भएकाले लघुवित्त सेवामा देखिएका केही कमजोरी र समस्याहरूलार्ई जतिसक्दो छिटो समाधान गरी लघुवित्त सेवाको विकास र विस्तार गर्न आवश्यक छ । सबै महिलालार्ई आयआर्जनका आर्थिक क्रियाकलापमा सक्रिय बनाई महिला रोजगारी, महिला स्वरोजगारी, महिला उद्यमीहरूको संख्या वृद्धि गरेर राष्ट्रिय उत्पादन सहजै वृद्धि गर्न सकिन्छ । राष्ट्रिय उत्पादन वृद्धि भएपछि आयात न्यून हुनेछ, निकासी वृद्धि हुनेछ जसले गर्दा देशले आर्थिक सम्पन्नता सहजै प्राप्त गर्नेछ । तसर्थ लघुवित्त सेवाबाट मात्रै विपन्न महिलालार्ई प्रभावकारी वित्तीय सेवा दिन सम्भव छ । विपन्न महिलाको आर्थिक सम्पन्नता वित्तीय सेवाको सहज पहुँचमा निर्भर छ । आर्थिक सम्पन्नता पछि मात्रै महिला नेतृत्व विकास सम्भव छ । महिला नेतृत्वबाट महिलासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन सम्भव छ । सबै महिलाको आर्थिक सम्पन्नता, महिला नेतृत्व, महिला कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै लैंगिक समानता र दिगो महिला सशक्तीकरण प्राप्त हुनेछ ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा अनुभवप्राप्त अधिवक्ता हुन् ।