नयाँ दिल्ली (भारत) । भारतको दिल्लीमा विधानसभा चुनावअन्तर्गत आज मतदान सम्पन्न भएको छ । विधानसभाको ७० सिटका लागि मतदान सम्पन्न भएको हो । चुनावमा ५७.८५ प्रतिशत मत खसेको भारतीय सञ्चार संस्था दैनिक भास्करले जनाएको छ ।
चुनावमा पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालको दल आम आदमी पार्टी, कांग्रेस र बहुजन समाजवादी पार्टीले सबै सिटमा उम्मेदवारी दिएका छन् । भारतीय जनता पार्टी (भाजपा)ले भने ६८ सिटमा मात्रै उम्मेदवारी दिएको छ ।
चुनावमा ६९९ जना (९६ महिला) उम्मेदवारबीच प्रतिस्पर्धा छ, जसमध्ये नयाँ दिल्ली सिटमा सबैभन्दा बढी उम्मेदवार छन् । उक्त सिटमा २३ जनाले उम्मेदवारी दिएका छन् । यो सिटबाटै पूर्वमुख्यमन्त्री केजरीवाल प्रतिस्पर्धा गरिरहेका छन् ।
मतगणनाको नतिजा भने आगामी शनिवार आउने बताइएको छ । एजेन्सी