काठमाडौं । ‘दक्षिण एशियाली महिलाको सम्मेलन २०८१’ नेपालमा पहिलोपटक सञ्चालन भइरहेको छ ।
‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण’ नाराका साथ गत आइतवारबाट ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा सम्मेलन शुरु भएको हो । सम्मेलन आगामी जेठ १ गतेसम्म चल्नेछ ।
सम्मेलनले दक्षिण एशियाभरिका महिलाले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठेरोका विषयवस्तुलाई लक्षित गरेको छ, जसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छन् । साथै सम्मेलनले लघु, साना र मध्यम व्यवसायलाई विषेश जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयलाई पनि समेट्न खोजेको छ ।
सम्मेलनले दक्षिण एशियाली महिलालाई एउटै सञ्जालमा राखेर उनीहरूको अनुभव आदानप्रदान गरि ग्रामीण महिलालाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्ने बताइएको छ । यसमा विभिन्न महिला उद्यमीका सफलताको कथा, जस्तै : इन्टरनेट साथी, ग्रामीण पर्यटन र महिलामा परिवर्तन, दिगो अर्गानिक कृषि प्रविधिद्वारा ग्रामीण महिलाको जीवनस्तर उकास्ने जस्ता विषयवस्तुलाई समेटिनेछ ।
दक्षिण एशियाली महिलाद्वारा सञ्चालित लघु, साना र मध्यम व्यवसायको प्रवर्द्धन गर्नु, लैङ्गिक डिजिटल ग्यापलाई पुलको रूपमा काम गर्नु र महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउनु सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।
सम्मेलनमा दक्षिण एशियाका लघु, साना र मध्यम स्तरका महिला उद्यमी व्यवसायी, सम्बन्धित देशका सरकारी प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।
सम्मेलन ललितपुरको ग्वाबहालस्थित अन्तर्राष्ट्रिय विकास संस्था, भारतको नयाँ दिल्लीस्थित दक्षिण एशियाली महिलाको संजाल र काठमाडौंको कमलपोखरीस्थित हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले आयोजना गरेको हो ।