काठमाडौं । नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ । बुधवार पनि बजार २३ दशलमव ८१ अंक घटेको थियो भने बिहीवार नेप्से परिसूचक १९ दशमलव ८९ अंक घटेको छ ।
यससँगै परिसूचक २ हजार ६९ दशमलव ५३ विन्दुमा झरेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ५७ करोड बराबरको कारोबार भएकोमा बिहीवार रू. ४ अर्ब २१ करोडमा झरेको छ ।
यसअघि बढेको बजारबाट नाफा बुक गर्नेहरू सक्रिय भएसँगै बजारमा थप विक्री चाप परेको देखियो । यसभन्दा अगाडि बजार लगातार पाँच कारोवार दिनमा ११३ अंक बढेको थियो । सोही कारण बजार एक/दुई दिन घट्नु स्वाभाविक रहेको जानकार बताउँछन् ।
लगानीकर्ताले लगानी गर्नुअघि बजारको ट्रेण्ड र कम्पनीको समग्र अवस्था केलाउनुपर्ने उनीहरूको भनाइ छ ।
यसाे त लगानीकर्ताले बजेटमार्फत पूँजीगत लाभकरको दर घटाउन माग गरेका थिए । तर, यो माग सम्बोधन भएन । यसैकारण तत्कालको प्रतिक्रियास्वरूप बजार घटेको लगानीकर्ता बताउँछन् । अहिले बजार घटे पनि दीर्घकालमा भने बजेटले शेयर बजारलाई हानी गर्ने केही प्रावधान नरहेको लगानीकर्ताले बताएका छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव १९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत घटेको छ ।
बिहीवार ३११ धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ हजार ७२ पटकमा रू. ४ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, अपर लोहरे खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू.५५६ दशमलव ६०, अपर लोहरे खोलाको रू. ३९९ दशमलव ३० र भगवती हाइड्रोपावरको रू. ८३५ दशमलव १० पुगेको छ ।
पोखरा फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९१ दशमलव २० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य ७ दशमलव ०८ प्रतिशत घटेर रू. १ हजार १५३ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको ङादी ग्रुप पावरको रू. १५ करोड ३० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २३ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ५३ प्रतिशत घटेको छ ।