महेन्द्रबहादुर श्रेष्ठ
बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ अनुसार नेपाल राष्ट्र बैङ्कले चार किसिमका वित्तीय संस्थालाई वित्तीय कारोेबार गर्न इजाजत दिन सक्छ । यसभित्र वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स कम्पनी तथा लघुवित्त कम्पनी रहेका छन् । अहिले मुलुकको अर्थतन्त्र सकारात्मक छैन । व्यापारघाटा बढ्दो छ । कृषिमा आत्मनिर्भर नेपालमा अहिले चामलदेखि तरकारीसम्म आयात गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा राष्ट्र बैङ्कले नेपाललाई आत्मनिर्भर बनाउने उत्पादन क्षेत्रमा लगानी बढाउन बैङ्किङ क्षेत्रलाई क्रियाशील पार्नुपर्छ । तर, यसो हुन नसक्नु विडम्बना हो ।
युवावर्ग देशमा रोजगारी नपाएर मलेशिया तथा अरब मुलुकतिर जान बाध्य छन् । अर्कोतर्फ १२ कक्षा उत्तीर्ण युवा अध्ययन गर्न विदेश जाने गरेका छन् । मुलुकले रोजगारी दिन नसकेकाले नै यसरी विदेश पलायन हुनेको सङ्ख्या बढेको हो । यसबाट भोलि देशले युवा जनशक्तिको अभावमा ठूलो घाटा बेहोर्नुपर्ने देखिएको छ । सरकारी क्षेत्रबाट युवालाई स्वदेशमा रोजगारी दिन पर्याप्त पहल हुन सकेको छैन । नेपाल उत्कृष्ट हावापानी, मौसम, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक भनी चिनिए तापनि राजनीतिक अस्थिरताका कारण आर्थिक विकासका गतिविधि हुन सकेका छैनन् । त्यसैले युवाहरू रोजगारी नपाई विदेश पलायन हुन बाध्य छन् । यस अवस्थामा बैङ्क तथा वित्तीय संस्थाले नेपालमा रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न आवश्यक छ । यसो गर्न सके युवा पलायन रोक्न सकिन्छ । विगतमा बैङ्क तथा वित्तीय संस्थाले विशेष गरी अनुत्पादक क्षेत्र मानिएका घरजग्गा तथा शेयरमा लगानी गर्दा केही विकास बैङ्क तथा फाइनान्स कम्पनी धराशयी भए । राष्ट्र बैङ्कले बैङ्कहरूलाई संरक्षण दिई जोगायो । राष्ट्रको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन बैङ्किङ समूहले उत्पादन क्षेत्रमध्ये जलविद्युत् तथा कृषिक्षेत्रमा विशेष लगानी बढाउनुपर्ने देखिएको छ ।
राष्ट्र बैङ्कले इजाजत दिएका बैङ्क तथा वित्तीय संस्थामध्ये लघुवित्त कम्पनीले कृषि उत्पादन क्षेत्रमा कार्यरत रही ग्रामीण तथा शहरी गरीबी निवारणमा विशेष भूमिका खेलेको छ । रोजीरोटी प्रदान गर्ने क्षेत्रमध्ये कृषिक्षेत्रलाई बढावा दिनु आजको आवश्यकता हो । लघुवित्त कम्पनीले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्न र गरीबी निवारण कार्यमा केही हदसम्म सफलता प्राप्त गरेको छ । कृषिमा व्यवसायीकरण, बजारीकरण, आधुनिकीकरण, यन्त्रीकरण गर्न पनि लघुवित्त कम्पनीले लगानी गरेका छन् । लघुवित्त कम्पनीहरूले पशुपालन, माछापालन, मौरीपालन, तरकारी खेती, जडीबुटी खेती, सिलाइबुनाइ, फलफूल खेती, कुखुरापालन, खसीबाख्रा पालन आदिबाट गरीबी निवारण तथा रोजगारी सृजनामा सराहनीय भूमिका निर्वाह गरेको पाइन्छ । यसले युवावर्गलाई विदेश पलायन हुनबाट केही हदसम्म रोकेको छ । हाल ७० लाखभन्दा बढी नेपाली गरीबीको रेखामुनि रहेको तथ्याङ्क छ । यस्तो गरीबी निवारण गरी युवावर्गलाई विदेश पलायन हुनबाट रोक्न लघुवित्त कम्पनीको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेकोे छ । यसमा वाणिज्य बैङ्कले आफ्नो कुल लगानीको ५ प्रतिशत, विकास बैङ्कले ४ प्रतिशत, फाइनान्स कम्पनीले ३ दशमलव ५ प्रतिशत लगानी लघुवित्त कम्पनीमा गर्नुपर्ने व्यवस्था छ । यस्ता लघुवित्तमा निक्षेप लगानी वा शेयर लगानी दुवै गर्न सकिन्छ । लघुवित्तमा बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्नैपर्ने भएकाले संस्थापक भई लघुवित्त कम्पनी खोली लगानी गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । अर्कोतर्फ राष्ट्र बैङ्कले तोकेका निर्देशनको अपव्याख्या गरी केही वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीले लघुवित्त कम्पनीमा लगानी गर्ने नाममा बजारबाट महँगोे मूल्यमा शेयर किन्ने गरेका छन् । यसरी शेयरबजारबाट बैङ्क तथा वित्तीय संस्थाले किनेको लघुवित्त कम्पनीको शेयर रकम लघुवित्त कम्पनीले प्राप्त गर्दैनन् । यस्तो लगानीले लघुवित्तमा कुनै योगदान नै दिन सक्दैन । लघुवित्त कम्पनीमा नपुग्ने गरी गरेको लगानीबाट लघुवित्त क्षेत्रलाई कुनै फाइदा हुँदैन । राष्ट्र बैङ्कले लघुवित्तका क्षेत्रमा योगदान पु¥याउन लघुवित्तमा लगानी गर्नुपर्ने व्यवस्था गरे पनि यसको नाममा शेयरबजारबाट महँगो दरमा शेयर किन्ने बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले निगरानी तथा कारबाही गर्न जरुरत छ । शेयरबजारमा लगानी गरेको रकम लघुवित्त कम्पनीको लगानीमा दाखिला नहुने, लघुवित्तसम्बन्धी कामकाजमा खर्च नहुने भन्ने जानकारी हुँदाहुँदै पनि बैङ्क तथा वित्तीय संस्थाले दैनिक करोडौंको शेयर कारोबार गरेको पाइन्छ ।
केही बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीले शेयरबजारबाट लघुवित्त कम्पनीको शेयर किनबेच गरी फाइदा लिइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र बैङ्कले लघुवित्तबाट गरीबी निवारण, कृषि विकास र रोजगारी सृजनामा लगानी गर्न लिएको लक्ष्य पूरा नहुने निश्चित छ ।
लघुवित्त कम्पनीमा लगानीका नाममा केही विकास बैङ्कले बजारबाट शेयर किनी आप्mना संस्थाका कर्मचारीलाई सञ्चालकमा पठाउने प्रवृत्ति बढेको छ । हालै एक विकास बैङ्कका कार्यकारी प्रमुखले एक लघुवित्त कम्पनीको सञ्चालकमा आफन्तलाई पठाउन शेयरबजारबाट करोडौंको लघुवित्त कम्पनीको शेयर किने । लघुवित्त कम्पनीमा प्रायः अन्य बैङ्क तथा वित्तीय संस्थाको कर्मचारी नै सञ्चालक हुने हुँदा राष्ट्र बैङ्कले यससम्बन्धी मापदण्ड निर्धारण गर्नु जरुरी छ ।
विगतमा राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले अर्को बैङ्क तथा वित्तीय संस्थाको शेयर खरीद गरी गर्ने लगानीमा रोक लगाई क्रस होल्डिङ बन्द गराएको पाइन्छ । बैङ्क तथा वित्तीय संस्थालाई क्रस होल्डिङ गर्न रोक लगाएपछि लगानीका नाममा शेयरबजारबाट बीमा कम्पनी र लघुवित्त कम्पनीका शेयर उठाउने गरेको पाइएको छ । अर्कोतर्फ, लगानीकै नाममा बैङ्क तथा वित्तीय संस्थाहरूले मर्चेण्ट बैङ्क कारोबार गर्ने क्यापिटल मार्केट्सका रूपमा कम्पनी दर्ता गरी लगानी गरेको पाइन्छ । यस्ता कम्पनीमा एनएमबी बैङ्कले एनएमबी क्यापिटल, नेपाल इन्भेष्टमेण्ट बैङ्कले एनआईबीएल क्यापिटल्स्, नबिल बैङ्कले नबिल क्यापिटल, लक्ष्मी बैङ्कले लक्ष्मी क्यापिटल, एस डेभलपभेण्ट बैङ्कले एस क्यापिटल, फाइनान्स कम्पनीमा एनआर्ईडीसी क्यापिट्ल मार्केट्स लिले एनसीएम मर्चेण्ट बैङ्किङ सञ्चालनमा ल्याएका छन् । यस्ता मर्चेण्ट बैङ्कहरूमा बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्नु जायज छ वा छैन राष्ट्र बैङ्कले समयमा नै अध्ययन गर्नुपर्ने देखिएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा हाल वृद्धि भइरहेको तरलता उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा शेयरबजारबाट लघुवित्तबाहेक बीमा कम्पनीको शेयरमा लगानी बढ्दो छ । यही कारण लघुवित्त तथा बीमासमूहका शेयरको मूल्य अप्रत्याशित रूपमा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जलविद्युत्लगायत विभिन्न क्षेत्रमा लगानी गर्न निश्चित प्रतिशत छुट्ट्याएको पाइन्छ । शेयरबजारबाट बीमा कम्पनीमा लगानी गर्नुपरेमा कति प्रतिशत लगानी गर्न पाउने हो त्यसको सीमा निर्धारण गरिनुपर्छ । यसो भए आफूखुशी अनुत्पादक क्षेत्रमा भइरहेको लगानीमा नियन्त्रण ल्याउन सकिन्छ । त्यस्तै बैङ्कहरूले लघुवित्त कम्पनीको शेयरबजारमा गरिरहेको लगानीमा नियन्त्रण हुन सक्छ ।
लेखक अधिवक्ता हुन् ।