दशैंको बढ्दो चहलपहलसँगै कर्पोरेट क्षेत्रका प्रमुखहरू पनि यो चाड मनाउने आआफ्नो तयारीमा जुटेका छन् । सधैंजसो व्यस्त रहने उनीहरूका लागि दशैं ‘बिदा मनाउने’ एक अवसर पनि भएको छ । आफ्नो परम्परा तथा संस्कृतिअनुसार यो बेला कोही सपरिवार देशविदेशको यात्रामा निस्कने योजना बनाउँदै छन् भने धेरैजसो घरमा जमघट हुने तयारीमा छन् । एक हप्ता लामो दशैं बिदामा सम्पूर्ण उद्योगधन्धा, कार्यालयहरू बन्द रहने हुँदा कर्मचारी तथा मजदूरलगायत सबै यो चाडको रमझममा हुन्छन् । कसरी मनाउँछन् त उनीहरूले दशैं ? केही उद्योगी तथा बैङ्करहरूसँग गरेको कुराकानीको सार :
सुरज वैद्य
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासङ्घ
दशैं प्रायःजसो परिवारका साथ घरैमा मनाउँछु म । परिवार तथा आफन्तको लहरो निकै ठूलो भएकाले टीका लगाउन हाम्रो घरमा जम्मा हुने परम्परा छ । बुबा छउन्जेल उहाँको हातबाट सबैले टीका लगाउँथ्यौं । गतसाल वहाँको देहावसान भएपछि त्यो जिम्मेवारी मैले उठाउनुपर्छ । तर, डाक्टरको सल्लाहले म उच्च रक्तचाप सन्तुलनमा ल्याउन एक हप्ताको लागि दिल्ली जाँदै छु । दशैंका लागि दुई दिनअघि फर्कन्छु । हाम्रो संस्थालाई घर र सबै कर्मचारीलाई हामी ‘टोयोटा परिवार’ मान्छौं । त्यसैले, टीकाको दिन जुट्न सक्ने सबै कर्मचारीलाई म टीका लगाइदिन्छु । दशैंका अवसरमा सबै कर्मचारीलाई उपहार दिने हाम्रो चलन छ । त्यसको व्यवस्था मेरी श्रीमती ऋतुले गरिसकिन् । यसरी मानिने दशैंका लागि अरू बेलाभन्दा केही विशेष खर्च छुट्ट्याइन्छ ।
प्रदीपजङ्ग पाण्डे
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासङ्घ
वर्षदिनभरि योगदान गर्ने सबै कर्मचारी, मजदूरले बिदा पाउने यो चाडमा हामी पनि एक हप्ता लामो छुट्टीमा जान्छौं । लामो समय नभेटिएका आफन्तसँग भेटघाट हुने, कुनै हतारोविना परिवारसँग बस्न, खान पाइने, इष्टमित्र, साथीभाइसँग पनि रमाइलो गर्न पाइने हुँदा दशैं मेरा लागि सधैं अविस्मरणीय हुने गर्छ । हाम्रो संस्कृतिको सम्बद्र्धन गर्न पनि खुलेर दशैं मनाउँछौं । दशैंमा नवदुर्गाको आराधना गर्छौं । ७÷८ वर्षदेखि बलि दिने प्रचलन छाडेर कुभिण्डोलगायतले पूजा गर्छौं । दशैंलाई विशेष बजेट नछुट्ट्याए पनि अरूबेलाभन्दा केही बढी खर्च त हुन्छ नै । आफूसँग भएका कुरा थोरैतिनै भए पनि बाँडेर खानु हाम्रो संस्कार नै हो । अपेक्षा गरेर आउनेलाई स्वेच्छाले सधैं दिने गरेको छु ।
पशुपति मुरारका
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासङ्घ
हाम्रो समुदायमा दशैंमा टीका थाप्ने चलन नभए पनि यसलाई सम्पूर्ण नेपालीको महान् चाडका रूपमा मनाउने गरिएको छ । वर्षभरिको व्यावसायिक व्यस्तताबाट एक हप्ता भए पनि आराम लिन पाइने यो अवधि म परिवार र आफन्तसँग भेटघाटमा बिताउँछु । सबभन्दा रमाइलो त के हुन्छ भने पढ्नलाई होस्टेल बसेका छोराछोरी घर फर्किन्छन् । शक्तिकी प्रतीक दुर्गादेवीको ‘नवरात्र पूजा’ गरिने हुँदा हामीकहाँ दशैंमा अरूबेलाभन्दा पनि सात्विक भोजन हुन्छ । दशैंकै अवसरमा स्वदेश तथा विदेश भ्रमणमा निस्कने पनि मेरो पुरानै शोख हो । यो अवसरमा परिवारसहित नेपालका पाल्पा, पोखरा, मुक्तिनाथ तथा दक्षिण भारतका विभिन्न क्षेत्र घुमेको छु । यसपालिको दशै भने परिवार, साथीभाइ तथा आफन्तजनसँग मनाउने विचारमा छु ।
भवानी राणा
उपाध्यक्ष
उद्योग वाणिज्य महासङ्घ
सधैंजसो हतारोमा बित्ने मेरो दिनचर्यालाई दशैंको बिदाले निकै राहत दिन्छ । यो बेला म व्यावसायिक कामबाट पूर्णतया छुट्टी लिन्छु । धेरै समयदेखि नभेटिएका साथीसङ्गी, आफन्तलाई भेट्न म दशैं पर्खिरहेको हुन्छु । दशैंमा नौ दिनसम्म व्रत बसेर दुर्गाभवानीको पूजा गर्छु । त्यसबाट म पारिवारिक वैभव, सुस्वास्थ्य तथा एकता र आत्मिक शान्तिको महसूस गर्छु । दशैंका लागि म सधैं नेपालगञ्जस्थित घर जाने गर्छु । त्यहाँ पनि कुलघरमा विशेष पूजा हुन्छ । यो बेला परिवार तथाब आफन्तसँग एकदम रमाइलो गर्छु । वर्षौंदेखि नभेटिएका आफन्तसँग भेटघाट हुने हुँदा निकै
आनन्द आउँछ ।
शेखर गोल्छा
प्रबन्ध निर्देशक
गोल्छा अर्गनाइजेशन
दशैंको बिदामा प्रायःजसो म परिवारसँग विदेशतिर घुम्न मन पराउँछु । अरू बेला त सधैं व्यावसायिक जिम्मेवारीमा व्यस्त हुनुपर्छ । परिवारसँग आनन्दले घुम्न पाउने यही एउटा मौका हो । कुनै वर्ष घरमै पनि मनाइन्छ । यतै रहेका बेला साथीभाइ, आफन्तजनसँग भेटघाटमा व्यस्त हुन्छु । दशैं शक्तिको पूजा गर्ने र सबैमा सद्भाव विस्तार गर्ने चाड हो । देशमा सामाजिक सद्भाव कमजोर भइरहेका बेला यस्ता राष्ट्रियस्तरका चाडपर्व एकता कायम गर्ने पुल बन्नुपर्छ । हामी, हाम्रो सम्प्रदाय, संस्कृति, भाषा, धर्म, चाडपर्व सबै हुनलाई सबभन्दा पहिले हाम्रो देश र राष्ट्रियता रहनुपर्छ । यसपालिको दशैंले सबैको मनमा यही सद्भावको बीउ रोपोस् भन्ने कामना गर्छु ।
हरिभक्त शर्मा
उपाध्यक्ष
नेपाल उद्योग परिसङ्घ
सानैदेखि यो उमेरसम्म म दशैंमा निकै नै रमाइलो गर्छु । तर, पछिल्ला केही वर्षदेखि देशको हालत सोचेजस्तो उत्साहप्रद छैन । त्यसैले, यस वर्ष सामान्य भेटघाट गरी ८५ वर्षे बुबाको हातबाट टीका थापी मनाउने योजना छ । टीका थाप्न नपाएका वर्ष देशबाहिर घुम्न पनि गएका थियौं । पछिल्लो समय देशमा सामाजिक सद्भाव कमजोर हुँदै गएको छ । दशैं पारिवारिक तथा सामाजिक सद्भाव बलियो बनाउन सहयोगी हुनुपर्छ । दशैं अन्य चाडपर्वभन्दा विशिष्ट भएकाले अलिकति बढी खर्च हुन्छ । यो बेला आशा गरेर आउने इष्टमित्रलाई पनि गच्छेअनुसारको सहयोग गर्ने गरेको छु ।
शशिकान्त अग्रवाल
प्रबन्ध निर्देशक, एमएस ग्रूप
दशैंको बिदामा म परिवारसँग प्रायः विभिन्न देश घुम्न जान्छु । यसअघि यूरोपतिर घुमेको थिएँ । यसपालि श्रीमती तथा अन्य साथीसमेत ७÷८ परिवार १ हप्ताका लागि थाइल्याण्ड जाँदै छौं । दशैंको लागि त्यस्तो विशिष्ट खर्च छुट्ट्याइँदैन । परिवारसँग वर्ष दिनमा एकपटक घुम्न निस्कने हुँदा ५÷७ लाख रुपैयाँ खर्च होला । केही पहिलेसम्म दशैंखर्चका रूपमा अपेक्षा गरेर आउने निकै हुन्थे । शायद अब नेपालीहरू आत्मनिर्भर हुँदै गए । तर, पनि केही सहयोगको अपेक्षा गरेर आउनेलाई खालिहात फर्काउँदैनौं ।
अशोकशमशेर जबरा
प्रमुख कार्यकारी अधिकृत
हिमालयन बैङ्क
परम्परादेखि हाम्रो परिवारमा दशैं ठूलो उत्सवका रूपमा मनाइन्छ । दुर्गा भवानीको नवरात्र पूजा गरिन्छ । त्यसपछि ४÷५ दिनसम्म सबै दाजुभाइ, मावली तथा आफन्तकहाँ पुगेर दशैं मनाउने चलन छ । म बुबाआमा तथा मामासँग टीका थाप्छु । यसपालि आमा निकै बिरामी हुनुभएकाले सधैंजस्तो उत्साहित छैनौं । यद्यपि टीका थापेपछि विदेशतिर जाने योजनामा छु । दशैंको लागि विशेष बजेट छुट्ट्याउने हाम्रो पुरानै प्रचलन हो । दशैंमा विशेष किनमेल गर्न तथा थोरैतिनो सहयोगको अपेक्षा गरेर आउनेका लागि पनि खर्च छुट्ट्याइन्छ । हामीकहाँ घर सहयोगी पनि छन् । उनीहरूका लागि पनि यस अवसरमा विशेष उपहार तथा सहयोग गर्छौं ।
गणेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
सेञ्चुरी कमर्शियल बैङ्क
दशैंको लामो बिदामा म प्रायः विभिन्न देशको भ्रमणमा निस्कन्छु । यो दशैंमा पनि म छोरा भेट्न अष्ट्रेलिया जाँदै छु । यो अवसरमा व्यावसायिक जीवनबाट म केही दिनका लागि भए पनि ‘ब्रेक’ लिन चाहन्छु । गतसाल सेञ्चुरी बैङ्कको पनि पहिलो दशैं भएकाले पनि मेरो लागि विशेष महत्वपूर्ण रहेको थियो । बैङ्कका स्टाफहरूलाई टीका लगाइदिएर पोहोरको दशैं मनाएको थिएँ । हरेक दशैंमा म सबै आफन्त, साथीहरूलाई एसएमएस, इमेललगायत विभिन्न ‘सोसल साइट’मार्फत शुभकामना आदान–प्रदान गर्छु ।
किरण साख
उपाध्यक्ष, साखः ग्रुप
वर्षमा एकपटक आउने दशैं हाम्रो लागि ठूलो चाड हो । यस अवसरमा परिवारका सबै सदस्य देशबाहिर जहाँ रहेका भए पनि घर फर्किन्छौं । दशैं बिदा शुरू भएको दिनदेखि परिवारका सबै मिलेर एकदमै रमाइलो गर्छौं । दाजुभाइ, बुबाआमा, छोराछोरीलगायत परिवारसँग बसेर दशैं मनाइन्छ । सबैभन्दा जेठो भएकाले मकहाँ बसेर बढी ‘सेलिब्रेट’ गर्छौ । अरू आफन्तबीच टीका थाप्न, आउने–जाने क्रम पनि उस्तै हुन्छ । हाम्रो पुख्र्यौली थातथलो नै उपत्यका भएकाले हरेक दशैं यही मनाइन्छ । दशैंकै लागि विशेष ‘बजेटिङ’ हुँदैन । बालबालिकाबाहेक यही अवसरमा शपिङ गर्ने प्रचलन पनि अब रहेन । तर, सगुनका रूपमा रक्सी प्रयोग गर्ने हाम्रो समुदायमा ‘मापसे’ विरोधी अभियानले अलिकति समस्यामा पारेको छ ।
राजनसिंह भण्डारी
प्रमुख कार्यकारी अधिकृत सिटिजन्स बैङ्क
दशैं मेरा लागि परिवारसँग समय बिताउने सबभन्दा राम्रो अवसर हो । कार्य व्यस्तताले गर्दा अरू बेला परिवारलाई समय नै दिन सक्दिनँ । त्यसैले घरै बसेर रमाइलो गर्नेबाहेक मेरो अन्त जाने योजना छैन । परिवार र आफन्तसँगको सम्बन्धलाई बलियो बनाउन दशैंका ५ दिन खर्चन्छु । दशैंमा दुर्गाभवानीलाई सपरिवार पूजा गर्छौं । देशमा लोकतन्त्र स्थापना भए पनि अझै स्थायी शान्ति आउन सकेको छैन । धेरै मान्छे अझै पनि बेघर र बेहालतको अवस्थामा छन् । विकासको गतिको गतिरोध अन्त्य गर्न यसपालीको दशैंले राज्य, राजनीतिक पार्टी तथा अन्य सबै क्षेत्रका जिम्मेवार निकायहरूको आँखा खोलिदेओस् ।
कृष्ण आचार्य
व्यवसायी तथा सदस्य
लगानी बोर्ड नेपाल
चाडपर्वलाई अनावश्यक भड्किलो बनाउनु हुँदैन भन्ने विचारको म प्रायःजसो सामान्य तरीकाले दशैं मनाउँछु । यसपालिको दशैं लामो समयअघिदेखि अमेरिका बस्दै आएका कान्छा छोरा–बुहारी र नाती घर फर्किने हुँदा विशेष हुँदै छ । क्रमशः व्यक्तिमुखी बन्दै गएको हाम्रो समाजमा यसरी परदेशिएका छोराछोरीसँगै बसेर चाडवाड मनाउनु निकै खुसीको कुरा हो । अहिले पनि शहरमा भन्दा गाउँमा दशैंको रौनक बढी छ । सबै मिलेर पिङ हाल्नु, खेल्नु, चङ्गा उडाउनुको मजै बेग्लै हुन्छ गाउँमा । कुनै–कुनै वर्ष म परिवारसँग दशैंकै बेला मुक्तिनाथ, जोमसोम आदि ठाउँ र विदेशमा दक्षिण भारत, इण्डोनेशिया, अमेरिका घुम्न गएको छु । दशैंका लागि विशेष खर्च छुट्ट्याउने चलन छैन । अपेक्षा गरेर आउनेलाई सकेको सहयोग गर्न कन्जुस्यार्इं गर्दिनँ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.