काठमाडौं । एक म्युचुअल फण्ड र दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज १६ गते) बुक क्लोज गर्दैछन् । यस्तै, एनआईबिएल ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ । सोही अनुसार यी कम्पनीका आजसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा असोज २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले धनकुटाको हिलेस्थित होटल कान्जिरोवामा यही असोज २९ गते नवौं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले भने करसहित ६ दशमलव ३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।