काठमाडौं । दुई लघुवित्त कम्पनीहरूले २६ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार ५०० कित्ता र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
यी शेयर दुवै कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर विक्री खुला गरिसकेका छन् । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो ।
कालिका लघुवित्तले असोज १३ गतेदेखि र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ९ गतेदेखि यी शेयर विक्रीमा ल्याएका हुन् । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र र सपोर्ट लघुवित्तको शेयर खरीदका लागि कात्तिक १३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कालिका लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्की र सपोर्ट लघुवित्तको शेयर खरीदका लागि कम्पनीको शेयर विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।