काठमाडौं । पछिल्लो दुई महीनामा वित्त र लघुवित्त समूहको सूचक उच्चदरले वृद्धि भएको छ । उक्त अवधिमा यी दुई समूहका शेयरधनीले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार समीक्षा अवधिमा वित्त समूहको सूचक१७ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ । \
२०८० फागुन २७ गते यस समूहको सूचक १ हजार ८४५ दशमलव २५ रहेकोमा २०८१ वैशाख २७ मा बढेर २ हजार १४९ दशमलव ५६ पुगेको छ । यो अवधिमा लघुवित्त समूहको सूचक १४ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ ।
यी दुवै समूहका कम्पनीको शेयर संख्या कम भएकाले पनि लगानीकर्ताको रोजाईमा परेका हुन् । वित्त समूहका कम्पनीको शेयर संख्या कम भएकाले आपूर्ति कम हुँदा मूल्य बढिरहेको जानकार बताउँछन् ।
लघुवित्त कम्पनीको शेयर घटेर तल्लो विन्दुमा आएकाले यसप्रति लगानीकर्ता आकर्षित भएको जानकार बताउँछन् । यसो त चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका अघिकांश कम्पनीको वित्तीय अवस्थामा नाफाजनक देखिएकाले लघुवित्त कम्पनीको शेयर मूल्य बढेको जानकारको भनाइ छ ।
दुई महीनामा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस समूहको सूचक सबैभन्दा बढी ९ दशमलव ३१ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् ।
२०८० फागुन २७ गते यस समूहको सूचक ६ हजार ९०२ दशलमव ४७ विन्दुमा रहेकोमा २०८१ वैशाख २७ गते घटेर ६ हजार २५९ दशमलव ५६ विन्दुमा कायम भएको छ । समीक्षा अवधिमा सर्वाधिक घट्ने सूचकमा दोस्रोमा अन्य समूह छ । यो समूहको सूचक ८ दशमलव ५४ प्रतिशत घटेको छ ।
यो अवधिमा १३ समूहगत सूचकमध्ये आठ समूहको सूचक घटेको छ भने चार समूहको सूचक बढेको छ ।
समूहगत | २०८१ वैशाख २७ | २०८० फागुन २७ | घटबढ प्रतिशत |
वित्त | 2159.56 | 1845.25 | 17.03 |
लघुवित्त | 4278.77 | 3738.35 | 14.46 |
विकास बैंक | 4048.69 | 3975.42 | 1.84 |
होटल तथा पर्यटन | 5264.14 | 5211.74 | 1.01 |
म्युचुअल फण्ड | 18.09 | 18.02 | 0.39 |
निर्जीवन बीमा | 10286.06 | 10735.48 | -4.19 |
जीवन बीमा | 9750.86 | 10248.92 | -4.86 |
व्यापार | 2673.13 | 2823.1 | -5.31 |
लगानी | 72.63 | 77.96 | -6.84 |
बैंकिङ | 1019.54 | 1096.5 | -7.02 |
जलविद्युत् | 2352.07 | 2567.48 | -8.39 |
अन्य | 1580.06 | 1727.57 | -8.54 |
उत्पादन तथा प्रशोधन | 6259.56 | 6902.47 | -9.31 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।