आजभन्दा लगभग १९ महीनाअगाडि जब च्याट जीपीटी शब्द र एपहरूले इन्टरनेटमा प्रवेश गर्यो त्यति बेलादेखि वास्तवमा कृत्रिम बौद्धिकताको चर्चा दुनियाँभर हुन थालेको हो । कृत्रिम बुद्धिमत्ताको अंग्रेजी शब्द आर्टिफिसियल इन्टिेलीजेन्सको छोटो रूप एआई हो । करोडौं इन्टरनेटमा उपलब्ध डेटाका साथै जम्मा पारिएका लाखौं तथ्यांकको सहयोगमा मेशिनहरूले पनि मानिसले जस्तै सोच्ने क्षमतालाई कृत्रिम बौद्धिकताका रूपमा लिइन्छ । यससम्बन्धमा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले यही असार १९ गते पहिलोपटक एआईसम्बन्धी अवधारणापत्र पारित गरेको छ । विश्वव्यापी रूपमा एआईको प्रयोग बढ्दै गएपछि नीति, ऐन, कानून बनाउन नेपालले पनि यस सम्बन्धमा आफ्नो अवधारणापत्र ल्याएको हो ।
मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा ५ सदस्यीय प्राविधिक समिति गठन गरी ५ महीनाको अध्ययनपछि समितिले असार १६ गते दिएको प्रतिवेदनको आधारमा अवधारणापत्र तयार पारेको छ । यसको निर्माणसँगै एआई के हो भन्ने सन्दर्भमा यसको इतिहास, वर्तमान र भविष्यबारे जान्न सबैलाई थप आवश्यक भएको छ । प्राकृतिक मानवबाहेक टिनको बट्टा अर्थात् ह्दयहीन मेशिनले केही सोच्न सक्छ भने त्यो सबै एआई हो । यस अर्थमा सन् १९५० तिर बनेको रोबोट नै एआईको शुरुआत हो जसले मानिसको आदेशविना स्वविवेकले पनि केही गर्न सक्थ्यो । त्यतिबेला देखि नै वैज्ञानिकहरू, गणितज्ञहरूको चेतनाले मानव दिमागको सिक्वेल बन्न सक्छ भन्ने छाप परेको थियो । त्यतिबेला बेलायतका एलन ट्युरिङले मानिसले निर्णय गर्न, विश्लेषण गर्न सक्छ भने मेशिनलाई पनि त्यस्तै काम गर्ने गरी तयार पार्नुपर्छ भन्ने बहस चलाएका थिए । यसै सन्दर्भमा उनले कम्प्युटिङ मेशिनरी र इन्टेलिजेन्सको तार्किक ढाँचाको सन्दर्भमा एउटा पेपर प्रस्तुत गरेका थिए । परन्तु एआईका मुख्य जन्मदाताका रूपमा जोन म्याकर्थीलाई लिइन्छ जसले सन् १९५६ मा यससम्बन्धी अवधारणा प्रस्तुत गरेका थिए ।
बढ्दो एआईबाट नोकरीमा विस्थापन, तथ्याड्ढ दुरुपयोग, सुरक्षा जोखिम, नैतिक द्विविधाजस्ता खराबी देखिंदै छ तर पनि एआईको प्रवेग रोकिने अवस्थामा छैन ।
मुख्य कुरा के हो भने एआई कम्प्युटर विज्ञानको एउटा उपशाखा हो यसले मानिसले जस्तै बुद्धमत्तापूर्ण विवेकपूर्ण तरीकाले काम गर्छ । कृत्रिम बौद्धिकता निर्माणको मुख्य उद्देश्य मानव श्रमलाई कम गर्नु र मानवले जस्तै काम एक्लै गर्न सक्नु हो । एआईले मानव दिमागको नक्कल गर्न मेशिनहरूबाट सूचना प्राप्त गर्छ र त्यसैको आधारमा आफ्नो विचार प्रस्तुत गर्छ । हलीवुड अभिनेता टमक्रुजको २०२३ मा एक फिल्म ‘डेड रेकनिङ पार्ट १’ आएको थियो जसको मुख्य खलनायक कुनै मानिस नभएर एक एआई सफ्टवेयर थियो । यसमा सफ्टवेयरलाई यस्तो शक्तिशाली देखाइएको छ कि यसले मानिसलाई नियन्त्रण गर्न सक्छ । यो खलनायकले भविष्यको अनुमान गर्न सक्छ । भविष्यको अनुमान भन्नाले आगामी ५/१० वर्षमा के हुन्छ भनेर अनुमान गर्ने नभई कुनै विशेष परिस्थितिमा त्यसको परिणाम के हुन्छ भनी बताउन सक्थ्यो । फिल्ममा नभएर विकसित एआईले यसरी नै ५ वर्षसम्मको कार्य योजना बनाएर जनताका अगाडि राख्ने अवस्था आयो भने के होला ?
दिनानुदिन एआईको प्रयोग व्यापक हुँदै गएको छ । च्याट जीपीटी एउटा सफ्टवेयर हो जसको निर्माण ओपन एआई भन्ने एक नाफा नकमाउने गरी खोलिएको कम्पनीले गरेको हो । यसका कार्यकारी प्रमुख सामअल्टमेन हुन् जसलाई केही समयअघि हटाइएको छ । अहिले एआईले हरेक काम राम्रो तरीकाले गर्दै गएको छ । एआईलाई अहिले एजीआई पनि भन्ने गरिन्छ जसको अर्थ आर्टिफिसियल जनरल इन्टेलिजेन्स हो । यो एक कम्प्युटर प्रणाली हो जसले हरेक काम मानिसले भन्दा राम्रो व्यवस्थित तरीकाले सम्पन्न गर्न सक्छ । च्याट जीपीटी, मिडजर्नीलगायत विभिन्न एआई सफ्टवेयर बजारमा उपलब्ध छन् र अन्य बन्ने क्रममा छन् । सबैले एजीआईकै तहमा पुग्ने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म विकसित भएको एआईले लेख्ने, चित्र बनाउने, सामान्य विश्लेषण गर्ने काम गर्न सक्छ । डिप लर्निङ, न्युरल नेटवर्क, नेचुरल ल्याङग्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, स्पिच रिकग्निसन, रोबोटिक्स, म्यानुफेक्चरिङ, कृषि, ग्राहक सेवा, एनर्जी स्मार्ट ग्रीड प्रणाली, शिक्षा, सुरक्षालगायत क्षेत्रमा एआईले अहिले काम गरिरहेको छ । एक किसिमले दुनियाँमा अहिले मानिसले अधिकांश काम एआईले गरिरहेको छ र यसलाई अझै व्यवस्थित बनाउन प्रत्येक समय यसमा सुधार गर्दै लगिएको छ । साँच्चै भन्ने हो भने मानिसले आफ्नै प्रतिद्वन्द्वी दिमागलाई अझै सशक्त बनाउँदै लगेको छ ।
बढ्दो एआईबाट नोकरीमा विस्थापन, तथ्यांक दुरुपयोग, सुरक्षा जोखिम, नैतिक द्विविधाजस्ता खराबी देखिँदै छ तर पनि एआईको प्रवेग रोकिने अवस्थामा छैन । ओपन एआई कम्पनीले अहिले क्यू स्टार तहमा काम भइरहेको बताएको छ । क्यू स्टारको आफ्नो तह र फैलावट त होला तर क्यू स्टारको पूर्णतया सफलतम विन्दुमा एआई पुग्यो भने त्यसपछि दुनियाँमा मानिसभन्दा एआई बढी सक्षम हुनेछ । मानौं, अहिलेसम्म एआईले कुनै समस्यामा समाधानको सामान्य निर्णयमात्र लिन सकेको छ । क्यू स्टार सफल भयो भने यसले केबल निर्णयमात्र लिने छैन, सम्भावित सबै निर्णय लिनेछ र त्यसपछि प्रत्येक निर्णय पछिको उपलब्धिलाई पनि बताइदिनेछ र कुन विकल्पमा काम गर्दा परिणाम के आउँछ भन्ने समेत सिकाउनेछ । त्यसपछि के शिक्षक, नेता, वक्ता आदि सबै काम एआईले गर्न थाल्ने छ । मानिसको दिमाग थाक्छ, गल्ती गर्छ तर एआई थाक्ने छैन र गलत निर्णय गर्ने छैन । मानव दिमागले ५० अंकलाई कागजमा जोड्नुपर्यो भने त्यहाँ त्रुटि हुने सम्भावना व्यापक रहन्छ र अर्को पटक त्यस्तै जोड्दा थकाइ पनि लाग्न सक्छ । तर, त्यस्तो हिसाब क्याल्कुलेटरबाट गरियो भने न त्यो थाक्छ न गलत हुन्छ । यही कुरा एआईमा पनि लागू हुन्छ । त्यसैले यदि मानवतालाई बचाउनु छ भने एआईलाई कुन हदसम्म विकसित गर्ने भन्नेबारे बहस हुनैपर्छ ।
अहिले विश्वका माथिल्लो तहका लगानीकर्ताले आआफ्नो तरीकाले एआईमा लगानी बढाइरहेका छन् र यो क्रम लामो समयसम्म नै चल्ने देखिन्छ । केही वर्षभित्रमा एआईले १५ ट्रिलियन डलर बरावरको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ ।
अहिले पनि विश्वका माथिल्लो तहका लगानीकर्ताले आआफ्नो तरीकाले एआईमा लगानी बढाइरहेका छन् र यो क्रम लामो समयसम्म नै चल्ने देखिन्छ । केही वर्षभित्रमा एआईले १५ ट्रिलियन डलर बरावरको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ । किनकि यसको सटिक प्रयोग गर्न जान्ने कम्पनीले आफ्ना अधिकांश कामहरू एआईको माध्यमबाट कम खर्चमा अधिक प्रभावकारी तरीकाले गर्न सक्ने अवस्था छ ।
चाहेर वा नचाहेर अब एआई मानव जीवनको अंश बन्ने नै छ किनकि जुन तहमा आज यो छ यहाँबाट फर्किन गाह्रो छ । कृत्रिम बौद्धिकताको विकासमाथि अनेक प्रयास भइरहेको छ र निरन्तर भइरहने छ । यो रोकिने वाला छैन । अबको बहस भनेको एआई मानिसभन्दा उम्दा र उच्चकोटी बन्ला कि नबल्ला भन्ने मात्र हो । यो बाहेक युद्धमा यसको प्रयोग हुन्छ कि हुँदैन, भयो भने कुन हदसम्म हुन्छ लगायतका विषयमा विश्लेषण गर्नुपर्छ । युद्धमा यसको प्रयोग भयो र सेनाहरू रोबोटबाट बन्नथाले भने त्यसबाट हुने नरसंहारले मानव इतिहासलाई समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैभन्दा बढी छ । अर्को कुरा यसले निर्णय लिने क्षमता राख्छ । निर्णयका ३ अवस्था हुन्छन् जस्तै निश्चितताको निर्णय, जोखिमको निर्णय र अनिश्चितताको निर्णय ।
पहिलो २ निर्णय त अहिले पनि एआईले लिन सक्छ । तेस्रो अनिश्चितताको अवस्थाको निर्णय पनि यसले लिन थाल्यो भने मानव दिमागको आवश्यता नै समाप्त हुनेछ । अहिलेसम्म प्रतिक्रियात्मक, सीमित स्मृति, दिमाग सिद्धान्त, आत्म चेतन तहका एआई प्रचलनमा आएका छन् । भोलिका दिनमा कस्तो एआई बन्ने हो त्यो भविष्यकै गर्भमा छ । तर, युद्ध र सुरक्षामा पनि एआईले प्रवेश गरेमा कुनै पनि बेला आणविक बमको साँचो एआईको निर्णयमा पुग्न सक्छ । त्यसैले युद्ध, सेना आदि क्षेत्रमा यसलाई प्रवेश हुन दिन हुँदैन, यो घातक हुनेछ ।
अन्तमा केही काम एआई गर्न सक्ने छैन जस्तै प्रयोगशालामा धान, केराउ र सुन्तला फलाउन यसले पनि सक्ने छैन । जबसम्म प्रयोगशालामा सुन्तला र स्याउ, धान र गहुँ फल्दैन मानिस संघर्ष गर्न बाध्य छ । संघर्षको यो अवसरलाई एक झड्कामा एआईले नखोसिदेओस् ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।