काठमाडौं । स्टार्टअप डिस्कभरी एसियाले (एसडीए) आयोजना गरेको क्लाइमेट च्याम्पियन कम्पिटिसनको फाइनल एग्री डाइरेक्ट ग्लोबलले जितेको छ ।
उक्त प्रतियोगितामा ग्लोबल मस्ट इनोभेटिभ, इम्पयाक्टफुल एन्ड स्केलेबल स्टार्टअप घोषित भएको हो । स्टार्टअपले ब्ल्याक सोल्जर फ्लाई लार्भाको प्रयोग गरेर जैविक फोहोरलाई प्रोटिनयुक्त पशु आहारमा रूपान्तरण गर्ने प्रविधिको विकास गरेको छ ।
त्यस्तै, सकल बायो इन्जाइम नेपालले इम्पयाक्टफुल एन्ड स्केलेबलको उपाधि जित्दा आरभीएम नेपालले मस्ट इनोभेटिभ इम्पयाक्टफुल घोषित भएको छ ।
यो प्रतियोगिता नेपाली स्टार्टअप्सलाई जलवायु परिवर्तनको अग्रगामी र सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको थियो ।
ललितपुरको सानेपास्थित इडेन एम्फिथिएटरमा बुधवार आयोजित कार्यक्रममा १२२ आवेदकमध्येबाट छानिएका सात जना फाइनलिस्टले आफ्नो इनोभेटिभ क्लाइमेट सोलुसन निर्णायक प्यानलसमक्ष प्रस्तुत गरेका थिए ।
सकल बायो इन्जाइम नेपालले जैविक फोहोरबाट बनेको वातावरणमैत्री क्लिनरको विकास गरेको छ भने आरभीएम नेपालले एआई नियन्त्रित प्रविधिको विकास गरी थर्मल इनर्जी स्टोरेज सञ्चालनमा ल्याएको छ ।
प्रतियोगितामा एग्री डाइरेक्ट ग्लोबलले १ लाख रुपैयाँ, सकल बायो इन्जाइम नेपाल र आरभीएम नेपालले ५०–५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
विजेताहरूले पुरस्कारका साथै लगानीकर्ता सञ्जाल, ग्लोबल एक्सपोजर र मेन्टरसिपका अवसरहरू पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।