काठमाडौं । नेपाल पहिलो पटक यु–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले इतिहास रचेको हो ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपालले युएईले दिएको ८४ रनको लक्ष्य १४ ओभरमै पूरा गर्याे । नेपाललाई विश्वकपमा छनोटका लागि १६ ओभरमा उक्त लक्ष्य हासिल गर्नुपर्ने थियो । तर, नेपालले त्यसको दुई ओभर अघि नै जित हासिल गर्याे ।
एसिया छनोटअन्तर्गत नेपालले यसअघिका पाँच खेलमध्ये चारमा जित हासिल गरेको थियो । पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । चौथो खेलमा थाइल्यान्डलाई पराजित गरेको नेपालले पाँचौं खेलमा कुवेतलाई हराएको थियो ।
प्रतियोगितामा नेपालसहित युएई, थाइल्यान्ड र कुवेत सहभागी थिए ।