काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को साउन महीनामा निर्जीवन बीमा कम्पनीहरुले कुल रू. ३ अर्ब ९८ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ ओटा कम्पनीले २ लाख १३ हजार ८०३ ओटा बीमा लेख विक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन ।
कम्पनीहरुमध्ये सबैभन्दा आगाडि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महीनामात्रै कुल रू. ५५ करोड १५ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कुल रू. ४२ करोड ५० लाख बीमाशुल्क आर्जन गरेको छ ।
१४ कम्पनीहरुमध्ये सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले साउन महीनामा कुल रू. १४ करोड १९ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले कुल रू. १७ करोड ८८ लाख बीमाशुल्क आर्जन गरेको छ ।
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स,शिखर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले रू. ३० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।