सहकारी संस्थाहरू बचत फिर्ता गर्न नसक्दा समस्याग्रस्त हुने क्रम बढिरहेको छ । यो अवस्थामा सहकारी संस्थाहरू पुग्नुको मुख्य कारण समयमै जोखिम पहिचान गरी न्यूनीकरणका लागि पहल नगर्नु नै हो । जसरी एउटा व्यक्ति स्वस्थ रहिरहन समय–समयमा स्वास्थ्य परीक्षण गरी नतीजाका आधारमा खानपान र रहनसहनमा सन्तुलन मिलाउनुपर्छ, त्यसैगरी एउटा संस्थालाई पनि बलियो, प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न समय समयमा वित्तीय स्वास्थ्य परीक्षण (फाइनान्सियल हेल्थ चेक) गरी देखिएका समस्या समाधानमा लाग्नुपर्छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुशासन, जोखिम न्यूनीकरण, दिगोपना र सदस्यको लगानीको सुरक्षा हुनेगरी वित्तीय स्वास्थ्य जाँचकै लागि ‘एलफेन्ट्स टुल’ विकास गरिएको हो ।
विकास परियोजना र सहकारी क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका डा. नवराज सिम्खडाले आफ्नो विद्यावारिधिका क्रममा गरेका अनुसन्धानका आधारमा एलफेन्ट्स टुल विकास गरेका छन्, जसलाई लेखकले वित्तीय सहकारीहरूको प्रगति मापक औजारको रूपमा सिफारिस गर्दै पुस्तकको रूपमा बजारमा ल्याएका हुन् ।
जसरी बैंक, वित्तीय संस्थाहरूको वित्तीय स्वास्थ्य परीक्षणका लागि अन्तरराष्ट्रिय रूपमा क्यामेल्स प्रचलनमा छ । त्यसैगरी वित्तीय सहकारीका लागि पल्स प्रयोग भइरहेको छ । डा. सिम्खडाले नेपालको सहकारी क्षेत्रको विविध पक्षहरूको विश्लेषण गरी मौलिक एलफेन्ट्स टुल विकास गरेका हुन्, जसमा संस्थाको अवस्था मूल्यांकनका लागि ९ सूचकमध्ये सातओटा वित्तीय कारोबार र दुईओटा वित्तीय वित्तीय समावेशिता एवं व्यवस्थापनसँग सम्बन्धित छन् ।
एलफेन्टस्का सूचकहरूले सहकारीहरूको अनुगमन र मूल्यांकनमा सजिलो पार्नुका साथै सञ्चालक एवं व्यवस्थापनलाई कुन क्षेत्रमा कमी कमजोरी भयो भनेर सूचना दिनेछ । यसबाट तत्काल सुधार गरी वित्तीय रूपमा दिगो तथा सदस्यको आवश्यकता अनुसार सर्वसुलभ सेवा प्रदान गर्ने भरपर्दो संस्था निर्माण गर्ने कार्यमा मद्दत गर्नेछ । यसैगरी संस्थाको आकार/अवस्थाको आधारमा वा कुन कुन पक्षको विश्लेषण गर्नुपर्दछ भन्ने जानकारी समेत यसमा समेटिएको छ ।
पुस्तकमा एलफेण्ट्स टुलको प्रयोगबाट वित्तीय प्रतिवेदनहरूको विश्लेषण तथा संस्थागत परीक्षणका विषय समावेश गरिएको छ । सहकारी संस्थाहरू पूँजीको संरचना, सदस्य संख्या र व्यवसायको आकार, प्रभावकारिता, वृद्धि र उत्पादकत्वमा निर्भर रहन्छन् । पूँजीको मुख्य स्रोत सदस्यहरूको शेयर, बचत, बाह्य ऋण र कोषहरू हुन्छन् भने पूँजीको सबैभन्दा ठूलो हिस्सा सदस्यहरूलाई ऋण लगानी गरिन्छ । यसैगरी संस्थाको सम्पत्तिलाई सकभर बढी कमाइ हुने क्षेत्रमा लगानी गरिन्छ भने न्यूनतम रकम स्थिर सम्पत्ति जोड्न र तरल सम्पत्तिको व्यवस्था गर्न प्रयोग गरिन्छ ।
संस्थाको विश्वसनीयता कायम गर्न तरलताको सही व्यवस्थापनको आवश्यकता पर्दछ । सदस्यहरूको माग बमोजिम बचत फिर्ता गर्न र ऋण प्रवाह गर्न नसके संस्थामा अविश्वासको वातावरण सृजना हुन हुन्छ । यसले संस्थालाई नै धराशयी बनाउन सक्छ । अहिले धेरै संस्थाहरू यहि समस्या भोगिरहेका छन् । सहकारी संस्थाको उद्देश्य नाफा केन्द्रित भन्दा पनि सेवा केन्द्रित हुने भए तापनि वित्तीय सक्षमता हासिल गर्न सबै खर्च कटाएर केही रकम जगेडा कोषमा जम्मा गर्न पुग्नेगरी बचतमा तिरिने र ऋणमा लिइने ब्याजबीच उपयुक्त अन्तर कायम गर्नुपर्दछ ।
संस्थाको उत्पादकत्व, प्रभावकारिता, दिगोपना कायम गरी बढीभन्दा बढी घरपरिवारमा सेवा प्रदान गर्न कर्मचारीलाई सदस्य, बचत, लगानीमा रहेको ऋण, भाखा नाघेको कर्जा आदिको लक्ष्य तोकेर वार्षिक रूपमा उक्त लक्ष्यमा के कति प्रगति भयो भन्ने मूल्यांकन गर्नुपर्दछ । साथै सहकारी संस्थाहरूले आफ्नो उद्देश्य परिपूर्ति हुनेगरी काम गरे–नगरेको, सदस्यहरूले उद्देश्य अनुरूप ऋण लगानी गरे–नगरेको, संस्थाको वित्तीय स्वास्थ्य ठीक भए–नभएको थाहा पाउन वित्तीय विश्लेषण र मूल्यांकनको आवश्यकता पर्दछ ।
एलफेन्ट्स टुलले तोकेका मापदण्ड र मार्ग निर्देशनको आधारमा गरिएमा सदस्यहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा दिगो तथा भरपर्दो सेवा प्रदान गर्ने कार्यमा संस्थाहरू प्रभावकारी हुनेछन् । त्यसैले वित्तीय कारोबार गर्ने सबै सहकारी संस्थाहरूलाई एलफेन्ट्स टुल अनिवार्य प्रयोग गर्न लगाइएमा सहकारी अभियानको सुदृढीकरणमा सघाउ पुग्ने आशा गर्न सकिन्छ ।
सहकारी संस्थाहरूलाई समुदायमा दिगो भरपर्दो र विश्वासिलो वित्तीय संस्थाको रूपमा विकास गर्न वित्तीय अवस्थाको विश्लेषण गरी संस्थाको वित्तीय स्वास्थ्य जाँच कम्तीमा वर्षको एकपटक गर्नुपर्नेमा द्विविधा छैन । पुस्तकमार्फत लेखकले सिफारिश गरेका मूल्यांकनका सूचक सहकारीका नियामक निकायहरूले नियमन, छाता संघहरूले संस्थाहरूको शाख: मूल्यांकन र संस्थाहरूले आफ्नो स्वमूल्यांकनका लागि समेत उपयोगी छ । दोस्रो संस्करण प्रकाशित भइसकेको पुस्तकको मूल्य ३९९ रुपैयाँ तोकिएको छ ।