काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तिन ओटा म्युचुअल फण्डले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
एनआईबिएल समृद्धि फण्ड-२, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल सहभागिता फण्डले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । सो अवधिमा यी तीनओटै फण्ड नोक्सानीमा रहेका छन् ।
मङ्सिर मसान्तमा एनआईबिएल सहभागिता फण्ड रू. ४४ लाख ६ हजार नोक्सानीमा रहेको छ । यो फण्ड कात्तिक मसान्तसम्म पनि रू. ३२ लाख ४७ हजार नोक्सानीमा थियो । त्यसैगरी एनआईबिएल समृद्धि फण्ड-२ ले मङ्सिर मसान्तमा रू. १ करोड ७५ लाख नोक्सानी व्यहोरेको छ । यो फण्ड कात्तिक मसान्तसम्म पनि रू. १ करोड ७८ लाख नोक्सानीमा थियो ।
त्यसैगरी एनआईबिएल प्रगति फण्डले मङ्सिर मसान्तमा रू. १ करोड ४६ लाख नोक्सानीमा रहेको छ । यो फण्ड कात्तिक मसान्तसम्म पनि रू. १ करोड ३२ लाख नोक्सानीमा थियो । मङ्सिर महीनामा यी तीनओटै फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन् ।
एनआईबिएल प्रगति फण्डको न्याभ पनि घटेको छ । फण्डको कात्तिक मसान्तसम्ममा न्याभ रू. ९ दशलमव ८३ रहेकोमा मङ्सिर मसान्तमा घटेर रू. ९ दशलमव ८१ कायम भएको छ । त्यसैगरी यस फण्डले मङ्सिर मसान्तमा सूचीकृत शेयरमा रू. ४६ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी कात्तिक महीनामा रू. ४६ करोड ९६ लाख थियो ।
त्यस्तै एनआईबिएल समृद्धि फण्ड-२ ले मङ्सिर मसान्तसम्म सूचीकृत शेयरमा रू. ६४ करोड ८६ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तसम्म रू. ६५ करोड ३ लाख थियो । यसरी हेर्दा फण्डको सूचीकृत शेयरमा लगानी कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा घटेको छ । त्यस्तै यस फण्डको न्याभ मङ्सिर मसान्तमा रू. ८ दशमलव ४४ कायम भएको छ ।
एनआईबिएल सहभागिता फण्डको न्याभ कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा घटेको छ । कात्तिक मसान्तसम्म फण्डको न्याभ रू. ९ दशलमव ९६ रहेकोमा मङ्सिर मसान्तसम्म रू. ९ दशमलव ९५ कायम भएको छ । त्यसैगरी यस फण्डले मङ्सिर मसान्तसम्म सूचीकृत शेयरमा रू. ३५ करोड ६८ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तसम्म रू. ३५ करोड ९२ लाख थियो ।