काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।
योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त नगद लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाईधनीहरू मात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ ।
यो खुलामुखी योजना हो । यस योजनाका इकाईधनीहरूले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाई खरीद गर्न सक्ने क्यापिटलले जनाएको छ । यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाईधनीहरूको हितग्राही खातामा यथाशीघ्र इकाई पठाइने पनि क्यापिटलले जानकारी दिएको हो ।
यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक छ ।