काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले यस वर्षको लाभांश वितरण गरेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि करसहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
लाभांश प्रयोजनका लागि असोज २ गते बुक क्लोज गरेको योजनाले असोज १२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश रकम जम्मा गर्न शुरु गरेको हो ।
यस वर्ष योजनाका इकाइधनीहरूका लागि ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ । लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउन योजना व्यवस्थापकले अनुरोध गरेको छ ।
साथै इकाई धितो बन्धक राखी कर्जा सुविधा उपयोग गरेका इकाईधनीहरूबाट कर्जा फुकुवा पत्र प्राप्त भएपछि मात्र लाभांश जम्मा गरिने जानकारीसमेत योजना व्यवस्थापकले दिएको छ । लाभांश प्रयोजनका लागि गरिएको बुक क्लोजको आधारमा असोज १ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेको छ ।