काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले गैरआवासीय नेपाली (एनआरएन) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (एनआरओ)लाई स्वदेशमा व्यापार विस्तारमा सघाउने भएको छ । यसका लागि संस्थाले ‘डायस्पोरा खाता सेवा’ सञ्चालनमा ल्याएको छ । मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको क्यापिटलले सोही सेवा थप परिष्कृत गर्दै उक्त सेवा शुरू गरेको हो । नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने एनआरएन एवं एनआरओले उक्त सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
नेपालमा व्यवसाय स्थापना र विस्तारका लागि आवश्यक परामर्श सेवा क्यापिटलले प्रदान गर्नेछ । ‘वन्स–स्टप सोलुसन’को रूपमा रहेको सो सेवाले लगानीकर्तालाई एकीकृत रूपमा वित्तीय, कानूनी र कम्पनी सञ्चालनका क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डायस्पोरा खाता सेवाअन्तर्गत कम्पनी दर्ता, कम्पनीको मूल्यांकन, कानूनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन, इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श दिइने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी निष्कासन तथा विक्री प्रबन्धक, आरटीए/आरटीएस सेवा, पूँजी संकलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन, वित्तीय विश्लेषण, कम्पनी मूल्यांकन, इक्विटी लगानी र व्यवसाय सञ्चालनका लागि परामर्श प्रदान गरिनेछ ।
डायस्पोरासँग सम्बन्धित सम्पूर्ण विषयमा ‘वन्स–स्टप सोलुसन’, सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तिमार्फत सेवा प्रदान, कम्पनी स्थापना वा विस्तार, आईपीओ निष्कासनदेखि धितोपत्रको दोस्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक राख्नेसम्मका सेवाका लागि डायस्पोरा सेवा खाता प्रभावकारी हुने कम्पनीले बताएको छ ।
यसैगरी क्यापिटलले सूचीकृत नभएका पब्लिक कम्पनीको संस्थापक समूहको शेयर कारोबार झन्झटिलो रहेको र चाहेको समयमा खरीदविक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी ‘फ्रिज’ भएर बसेको गुनासो लगानीकर्ताबाट बारम्बार आउने गरेकाले यसको समाधान तथा सहजीकरणका लागि ‘अफर फर सेल’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरीदकर्ता वा विक्रीकर्ता खोजी कानूनअनुसार शेयर नामसारी सेवा प्रदान गर्नेछ ।