काठमाडौं। एनएमबि बैंक लिमिटेडले ‘विश्व मुटु दिवस, २०२४’ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकका ग्राहक र समुदायका सदस्यलाई मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।
ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने मान्यताका साथ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । शिविरमा साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्न आवश्यक महत्त्वपूर्ण जानकारीसमेत उपलब्ध गराइएको थियो । कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारे जानकारी गराइएको थियो ।