काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । शेयर प्रिमियममा ७ करोड २९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निङ भने ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । जगेडा कोष रकम भने १८ करोड ९० लाख रुपैयाँभन्दा बढी कायम छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । यस अवधिसम्म कम्पनी १८ रुपैयाँ ७३ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ९५ पैसा छ ।