काठमाडौं । दुई वर्षदेखि कीर्तिपुर बसेर मोटरसाइकलमा राइड शेयरिङ सेवा दिइरहेका सुनील केसीलाई आजभोलि यात्रु ओसार्न भ्याइनभ्याई छ ।
उनले त्रिभुवन विश्वविद्यालय परिसरभित्र आयोजना भइरहेको क्रिकेटको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने र फर्कने दर्शक मोटरसाइकलमा ओसारिरहन पाएका छन् । ‘यसबाट अन्य बेलाको भन्दा धेरै आम्दानी भएको छ,’ केसीले भने ।
काठमाडौंको एक कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत केसीले विगतमा अस्पताल र कलेज तथा साँझमा होटेल रेस्टुराँको आसपास ढुकेर अर्डर कुरेर बस्थे । ‘अहिले एनपीएल चलिरहँदा बल्खुदेखि कीर्तिपुरसम्मको दूरीमा व्यापक राइड अर्डर आउने गरेको छ,’ उनले भने, ‘शायद बल्खुसम्म चक्रपथ र अन्य बाटोबाट सार्वजनिक यातायातबाटै दर्शक आइपुग्छन् । तर, कीर्तिपुरमा थोरै मात्र सार्वजनिक यातायातका साधन चल्ने भएकाले राइड शेयरिङको माग बढेको होला ।’
- ‘ आम्दानी धेरै हुने भएकाले अहिले कलेज पनि नगईकन राइड शेयरिङ सेवा दिइरहेको छु,’ केसीले भने ।
- कीर्तिपुर क्षेत्रमा राइड गर्ने राइडरको चाप १० देखि १५ प्रतिशत बढ्यो : पठाओ
- दैनिक ८ खेप यात्रु बोक्ने कीर्तिपुर रुटका बस/माइक्रो बसले १० खेपसम्म बोक्न थाले
- प्रतियोगी टीमहरूको फेसबुकमा फ्यान, फलोइङ बढ्दो
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको घरेलु प्रतियोगिताको सबैभन्दा धेरै लगानीको खेल प्रतिगोगिता हेर्न दैनिक हजारौंको संख्यामा क्रिकेटप्रेमी दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगिरहेका छन् । प्रतियोगिता मङ्सिर १५ मा शुरू भएको हो ।
यही प्रतियोगिताका कारण उक्त क्षेत्रमा सार्वजनिक यातायात र राइड शेयरिङ एपमार्फत सेवा दिने पठाओ, इनड्राइभ, टुटल र जुमजुमको माग बढेको हो ।
पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले पनि सार्वजनिक बिदाको दिनमा एनपीएल हेर्न कीर्तिपुर जाने दर्शकका कारण त्यस क्षेत्रमा राइड गर्ने राइडरको चाप सामान्य दिनको तुलनामा करीब १० देखि १५ प्रतिशतसम्मले वृद्धि भएको जानकारी दिइन् ।
उनका अनुसार एनपीएल हेर्न हजारौं दर्शक तथा समर्थक कीर्तिपुर जाने गरेका कारण त्यस क्षेत्रमा राइडरको चाप बढेको हो । ‘विशेष गरी एनपीएल उद्घाटन दिनको खेल र गत शनिवार सबैभन्दा धेरै राइडरको चाप त्रिभुवन विश्वविद्यालय मैदान वरपर देखिएको छ,’ उनले आर्थिक अभियानसँग भनिन् ।
राइड शेयरिङ सेवाबाहेक कीर्तिपुरदेखि विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका साधनमा एनपीएल शुरू भएसँगै यात्रुको चाप वृद्धि भएको बाघभैरव यातायात प्रालि कीर्तिपुरका अध्यक्ष कृष्ण कोजूले जानकारी दिए ।
उनका अनुसार कीर्तिपुरमा दुईओटा यातायात समिति छन् । तीमार्फत दैनिक १५० ओटा बस/माइक्रो बस कीर्तिपुर–रत्नपार्क र कीर्तिपुर–लगनखेल रुटमा गुड्ने गर्छन् ।
‘सामान्य दिनमा यहाँ चल्ने बस, माइक्रोले दैनिक ८ खेप यात्रु बोक्ने गरेकोमा हाल १० खेपसम्म बोक्ने गरेका छन् । प्रतियोगिता हेर्न आउने दर्शक सबैसँग आफ्नै साधन हुँदैन, त्यसकारण पनि यस क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा चाप बढेको हुन सक्छ,’ उनले आर्थिक अभियानसँग भने ।
बाघ भैरव यातायात प्रालिले यसअघि प्रतियोगिता शुरू हुनुअगावै यात्रुको चाप हेरेर आवश्यकताअनुसार सवारी व्यवस्थापन गर्ने तयारी गरेको थियो । कीर्तिपुर–रत्नपाक रुटमा माइक्रो बस चलाउँदै आएका चालक विजय तामाङले पनि एनपीएलका कारण यतिबेला यात्रुको चाप बढ्ने गरेको बताए । मुख्यगरी बिदाको दिन र विशेष गरी सुदूरपश्चिम, कर्णाली याक्स, जनकपुर बोल्ट्सको खेल भएको दिनमा यात्रुको चाप बढेको महसूस भएको उनले सुनाए ।
प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका आठओटै टोलीमध्ये सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा ठूलो समर्थक र फ्यान फलोइङ भएको टोली सुदूरपश्चिम रोयल्स हो । सोमवार साँझसम्म टीम सुदूरपश्चिमको फेसबुक पेजमा १ लाख ९५ हजार फलोअर्स छन् । त्यसैगरी कर्णाली याक्सको पेजमा ८७ हजार र जनकपुरको पेजमा ६२ हजार फलोअर्स छन् ।
यद्यपि, फेसबुकमा फलोअर्सको हिसाबले पोखरा एभेन्जर्स १ लाख ३९ हजार र लुम्बिनी लायन्स १ लाख २१ हजारसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा भए पनि जनकुपर बोल्ट्सले जारी प्रतियोगितामा आजको बाहेक सबै खेल जितेर सबैभन्दा बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको छ । त्यसैगरी भारतीय चर्चित क्रिकेटर शिखर धवनको आगमनले टीम कर्णालीको क्रेज पनि कम्ती छैन । यद्यपि, पूर्वसम्झौताअनुसार शिखर धवन प्रतियोगिता छाडेर फिर्ता भइसकेको कर्णाली टीमले बताएको छ ।
पुस ६ गतेसम्म चल्ने यो प्रतियोगिता सम्पन्न हुँदा करीब ६० करोड रुपैयाँ खर्च हुन सक्ने अनुमान गरिएको क्यानका सचिव पारस खड्काले हालै आर्थिक अभियानलाई बताएका थिए । पहिलोचोटि ठूलो लगानीका साथ स्वदेशी र विदेशी खेलाडी ल्याएर आयोजित प्रतियोगितामा दर्शकको ठूलो क्रेज देखिएको हो । टीमले गरेको खर्चले बढाएको आर्थिक गतिविधिका अतिरिक्त सार्वजनिक यातायात र राइड शेयरिङ सेवा लिनेहरू पनि बढेका हुन ।