काठमाडौं। नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ शनिवारदेखि शुरू भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ । शनिवारको खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले रू. ३० हजार नगद पुरस्कार र रू. ५ हजारको रिचार्ज भौचर प्रदान गर्ने बताइएको छ ।
आइतवार (आज)को खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ ।
‘हाम्रा सहकार्यहरूले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरको सृजना गर्न चाहन्छौं, ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने उनको भनाइ छ । यो सिजन अवधिभर कुल ३४ खेल खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ ।