काठमाडौं । एफपीओ निष्कासन गरेका तीनओटा बीमा कम्पनीले सरकारलाई रू. १ अर्ब ४१ करोडभन्दा बढी कर तिर्नुपर्ने देखिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत एफपीओबाट प्राप्त आम्दानीमा कर लगाउने घोषणा गरेसँगै एफपीओ निष्कासन गरेका नेपाल लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले सरकारलाई रू. १ अर्ब ४१ करोड ४ लाख ६७ हजार १४५ तिर्नुपर्ने देखिएको हो ।
अब एफपीओ निष्कासन गरेका कम्पनीले प्रिमियमबापत संकलन गरेको रकमबाट शेयर प्रिमियम रकम घटाएर आएको रकमको ३० प्रतिशत सरकारलाई कर तिर्नुपर्ने भएको छ ।
एफपीओ निष्कासन गरेका तीनओटा कम्पनीको शेयर प्रिमियम शीर्षकमा कुल रू. ४ अर्ब ७० करोड १५ लाख ५७ हजार १५३ छ । यो रकममा प्रिमियमबापत उठेको कुल रकमलाई घटाएर आएको रकमको ३० प्रतिशत रू. १ अर्ब ४१ करोड ४ लाख ६७ हजार १४५ हुन्छ ।
कुन कम्पनीको कति ?
तीन इन्स्योरेन्स कम्पनीमध्ये नेपाल लाइफले महँगो मूल्यमा एफपीओ जारी गरेको थियो । यस कम्पनीले प्रतिकित्ता १ हजार ४२५ रुपैयाँमा ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ विक्री गरेको थियो । कम्पनीले अंकित मूल्यमा १ सय रुपैयाँमा १ हजार ३२५ रुपैयाँ प्रिमियम थप गरी एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियमबापत रू. ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रकम संकलन गरेको थियो । कम्पनीको ०७७/०७८ को वार्षिक वित्तीय विवरण अनुसार शेयर प्रिमियममा रू. ४ करोड ७१ लाखभन्दा बाँकी छ । यस आधारमा कम्पनीले प्रिमियमबापत संकलन गरेको रकममा शेयर प्रिमियम घटाउँदा आउने रू. ४ अर्ब ५ करोडको ३० प्रतिशत कर रू. १ अर्ब २१ करोडभन्दा बढी हुन्छ ।
त्यस्तै साविकको प्रिमियर इन्स्योरेन्सले प्रतिकित्ता ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ विक्री गरेको थियो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ६९९ रुपैयाँ थप गरी कूल रू. ४६ करोड १० लाख ३५ हजार ९३५ प्रिमियम संकलन गरेको थियो । कम्पनीको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको शेयर प्रिमियममा रू. ४ लाख ७५ हजार छ । एफपीओ निष्कासनपश्चात संकलन गरेको प्रिमियममा शेयर प्रिमियम रकम घटाउँदा आएको रकमको ३० प्रतिशत कर रू. १३ करोड ८१ लाख ६८ हजार हुन आउँछ ।
त्यसैगरी शिखर इन्स्योरेन्सले प्रतिकित्ता ६५० रुपैयाँमा ५ लाख १० हजार ९८८ कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ५५० रुपैयाँ थप गरी कूल रू. २८ करोड १० लाख ४३ हजार ४ सय प्रिमियम संकलन गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक वित्तीय विवरण अनुसार कम्पनीको शेयर प्रिमियम रू. ९ करोड ५७ छ । एफपीओ निष्कासनपश्चात संकलन गरेको प्रिमियममा शेयर प्रिमियम रकम घटाउँदा आउने रकमको ३० प्रतिशत रू. ५ करोड ५५ लाख ९९ हजारभन्दा बढी हुन आउँछ ।
हेर्नुस् तालिका
कम्पनीको नाम | एफपीओ कित्ता | शेयर मूल्य रू. | थप प्रिमियम मूल्य रू. | प्रिमियम रकम (रू. हजारमा) | शेयर प्रिमियममा बाँकी रहेको रकम (रू हजारमा) | तिर्नुपर्ने कर योग्य रकम (रू. हजारमा) | तिनुपर्ने कर रकमको ३० प्रतिशत (रू. हजारमा) |
नेपाल लाइफ इन्स्योरेन्स | 3,096,429 | 1,425 | 1,325 | 4,102,768 | 47,101 | 4,055,666 | 1,216,700 |
प्रिमियर इन्स्योरेन्स | 659,565 | 799 | 699 | 461,035 | 475 | 460,560 | 138,168 |
शिखर इन्स्योरेन्स | 510,988 | 650 | 550 | 281,043 | 95,712 | 185,330 | 55,599 |
कुल | 4,844,846 | 143,288 | 4,701,556 | 1,410,467 |
स्रोत : कम्पनीको सूचनाबाट ।