काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एशियन बैंकर र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै, द एशियन बैंकरले काठमाडौं फिन्टेकलाई नेपाल र भूटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । यसले नेपाली तथा भूटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनललाई द एशियन बैंकर, द बैंकिङ एकेडेमी, ट्याब इनसाइट, वेल्थ एन्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ ।
द एशियन बैंकरका अध्यक्ष इम्यानुएल ड्यानियलले ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले नेपालको वित्तीय क्षेत्र डिजिटल रुपान्तरणको यात्रालाई अझ मजबुत बनाउने बताए । यसले नेपाली तथा भुटानी वित्तीय संस्थालाई विश्वस्तरीय अवसर उपलब्ध गराउने उनको भनाइ छ ।
काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले नेपाल र भुटानका बैंक तथा फिनटेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्य कोसेढुंगा सावित हुने बताए ।
सम्झौताअनुसार नेपाल र भुटानमा ट्याब ग्लोबलका सम्मेलन तथा तालिम कार्यक्रम प्रवर्द्धन गर्ने विशेष अधिकार हुनेछ । दुवै देशका फिनटेक संस्थालाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराइनेछ ।