गतवर्षमा सम्पन्न एसईई परीक्षामा कुल परीक्षार्थी ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४७२ जना उत्तीर्ण भए । बाँकी अनुत्तीर्ण भए । देशले यस वर्षको बजेटमा शिक्षातर्फ २ खर्ब ३ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । गतवर्ष १ खर्ब ९७ अर्ब खर्च भएको थियो । सम्पूर्ण शिक्षाक्षेत्रको बजेटमध्ये ८० प्रतिशत विद्यालय शिक्षामा खर्च हुन्छ । विद्यालय शिक्षा भन्नाले कक्षा १ देखि १० सम्मको शिक्षालाई बुझ्नुपर्छ । यसमा कक्षा ११ र १२ का लागि न त सरकारले लगानी गरेको छ न पर्याप्त दरबन्दी दिएको छ । शिक्षाको अधिकांश रकम कक्षा १० सम्मको शिक्षामा खर्च हुन्छ । तर, त्यसको अनुपातमा परीक्षाफल सन्तोषजनक हुन सकेको छैन ।
शिक्षक सेवा आयोग दिएर योग्य शिक्षकले भरिएका विद्यालयमा ५२ प्रतिशत विद्यार्थीले ११ पढ्ने बाटोसमेत नपाउने गरी परिणाम आउनु दु:खद हो । यसमा दु:ख मनाउ गर्न कसैले कन्जुस्याइँ गर्नुपर्छ जस्तो लाग्दैन । कमजोरी सामूहिक रूपमा शिक्षकको देखिन्छ परन्तु व्यक्तिगतरूपमा कसैलाई उत्तरदायी बनाउन पनि सक्ने अवस्था छैन ।
अझ सोचनीय प्रश्न के छ भने ४८ प्रतिशत पास भएकामध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट पढेका छन् जहाँ तालीम प्राप्त शिक्षकको अभाव छ भन्ने मानिन्छ । के निजी विद्यालयमा जादूको छडी छ जहाँ पढ्नासाथ सबै पास होऊन् । केही विद्यार्थी सरकारीमा पनि विलक्षण प्रतिभाका हुन्छन् । परीक्षाको दृष्टिकोणबाट र निजीमा पनि हुन्छन् । एकपटक कोर्स सिध्याउने गरी पढाउने कुरामा निजी तथा सरकारी दुवैमा कोर्स सकिन्छ तर निजीमा अभ्यास बढी गराइन्छ । सम्भवत: निजीको परिणाम राम्रो हुनुमा मुख्य कारण विद्यार्थीलाई उपयुक्त ध्यान दिनु हो जुन कुराको सरकारी विद्यालयमा अभाव छ ।
एसईई दिँदा विद्यार्थी १४–१५ वर्षको भइसकेको हुन्छ । उसलाई ९ कक्षा अझ भनूँ अघोषित सेन्टअपसम्म योग्य मानेर उत्तीर्ण गर्दै लैजाने अनि एसईईमा गएर तँ अक्षम छस् भनेर घरमा बसाल्नु गलत हो ।
आवासीय विद्यालय भन्नासाथ केही प्रतिशत विद्यार्थी विद्यालयमै बसेर पढ्दा गणित, विज्ञान र अंग्रेजी जस्ता विषयमा थप अभ्यास हुन्छ जस कारणले गर्दा प्रतिशतका रूपमा सरकारीमा भन्दा बढी निजीमा उत्तीर्ण हुन्छन् । निजी विद्यालयमा शिक्षकको तलब र लगानीकर्ताको नाफा, अभिभावकको शुल्कअनुसारको सपना एसईईको परिणामसँगै गाँसिएको हुन्छ । तसर्थ यहाँ त्रिपक्षीय प्रयास हुन्छ । सरकारीमा न तलबको चिन्ता न नाफाको चिन्ता । सम्भवत: यही कारणले पनि सरकारी विद्यालयको परिणाम खस्किएको हो ।
पहिलो कुरा एसईईमा यो तरीकाले ५२ प्रतिशत अनुत्तीर्ण हुनु हुँदैन किनकि विद्यार्थी १४–१५ वर्षको भइसकेको हुन्छ । उसलाई ९ कक्षा अझ भनूँ अघोषित सेन्टअपसम्म योग्य मानेर उत्तीर्ण गर्दै लैजाने एसईईमा गएर तँ अक्षम छस् भनेर घरमा बसाल्नु गलत हो । अनुत्तीर्ण २ लाख ४२ हजार ३१३ जनाको मनस्थितिलाई गहिरिएर हेरौं त । माघतिर हुने आन्तरिक परीक्षामा उनीहरू योग्य थिए, आज अयोग्य छन् । यस अवस्थामा उनीहरूलाई अभिभावकले गर्ने गाली, अनुत्तीर्ण हुुनुको चिन्ता, १ वर्षसम्म गतिहीनता, अकर्मण्यताको जिम्मा कसले लिने ? अहिले सरकारले सबै ननग्रेडिङहरूलाई साउन २३ बाट परीक्षा लिने व्यवस्था गरेको छ । यो राम्रो पहल हो तर १ महीनामा कति मेहनत गरेर उत्तीर्ण हुन सक्लान् भन्ने प्रश्न भए पनि परीक्षा दिन पाउनु राम्रो हो ।
एसईई पढाइमा अगाडि बढ्ने कोसेढुङ्गा हो । यहाँ रोकिएपछि कक्षा ११ मा प्रवेश गर्ने बाटो रोकिन्छ । विद्यार्थी कुलतमा लाग्न सक्छ । त्यसैले कम्तीमा उसलाई ग्रेडिङको मर्मअनुसार अगाडि बढ्न दिएको भए कक्षा ११ मा भुल्थ्यो । जेनतेन १२ पास गरेपछि उसका राष्ट्रिय अन्तरराष्ट्रिय रोजगारीका र पढाइका ढोका खुल्थे । अहिले एसईईका परिणामले उनीहरूलाई मझधारमा रोक्यो ।
शिक्षा सबैभन्दा राम्रो हुनुपर्छ, त्यसमा द्विविधा छैन । परीक्षा मर्यादित हुनुपर्छ, त्यसमा पनि द्विविधा छैन तर एसईईमा आधाभन्दा बढी विद्यार्थीको अगाडि बढ्ने बाटो रोकेर गुणस्तर आउने हुँदै हुँदैन । विद्यार्थीले अझै २ वर्ष र ११ र १२ मा पढ्छ । त्यहाँ पढ्न नपाए प्राविधिक शिक्षा पढ्छ । १ लाख ७७ हजार ९७५ विद्यार्थीलाई गणित विषय लागेको छ । गणित नजाने पनि प्राविधिक शिक्षा पढ्न र राम्रो परिणाम ल्याउन रोकिँदैन ।
२०७१ पछि ल्याएको लेटर ग्रेडिङ नै ठीक थियो, विद्यार्थीलाई कम्तीमा अगाडिको ढोका त खुल्थ्यो । खेलकुदमा जान, उद्यमी बन्न, व्यवसायी बन्न, मोटरको ग्यारेज खोलेर मर्मतको कार्य गर्न, गाडी चलाउन, खेतीकिसानी गर्न एसईईको प्रमाणपत्रको अब्बलताले तात्त्विक भिन्नता हुन्छ जस्तो लाग्दैन । त्यसैले १४ वर्षमै निराश पारेर उसलाई अनुत्तीर्ण बनाउन सान्दर्भिक हो जस्तो लाग्दैन । यसबारेमा सोचौं, मौका परीक्षामा विद्यालयले राम्रो मार्गदर्शन गरेर अब अनुत्तीर्ण नहुने गरी तयार पार्न आवश्यक छ ।
देशले चाहेको धेरै नम्बर ल्याउने विद्यार्थी होइन, धेरै काम गरेर देखाउन सक्ने विद्यार्थी हो । हाम्रो शिक्षाको अन्तिम गन्तव्य आविष्कारक, उद्यमी र असल नेतृत्वदायी व्यक्ति जन्माउनु हो ।
विद्यालय शिक्षाले नै भोलिका लागि योग्य जनशक्ति तयार पार्छ जसबाट प्राविधिक क्षेत्र, सामाजिक क्षेत्र, कृषि, वन संरक्षण, स्वास्थ्य क्षेत्र, सरकारी सेवा, राजनीति सबैतिरको जनशक्तिको नर्सरी शिक्षा नै हो । त्यसैले शिक्षामा लगानी आवश्यक छ र सरकारले लगानी गरेको पनि छ र पनि त्यसको प्रतिफल आउन नसकेको यथार्थ यसपटकको एसईई परिणामले उदाङ्गो पारिदिएको छ ।
लुम्बिनी प्रदेश गुल्मी जिल्लाको एक गाउँपालिका रहेका १२ माध्यमिक विद्यालयमा २७९ जनाले पढ्दै गर्दा ९२ जनाले मात्र एसईई उत्तीर्ण गर्न सफल भए । यदि गहिरिएर हेर्ने हो भने सबै गाउँपालिकाको रिजल्ट यस्तै हो । यहाँनेर शिक्षकले पढाए पढाएनन्। राजनीति गरे गरेनन् भनेर खोजीनीति गर्नुभन्दा विद्यार्थीले पनि राम्रोसँग पढ्न चाहेको छैन भन्ने पक्षमा पनि ध्यान दिनुपर्छ । जति सुधार गरे पनि परीक्षामा लेख्नका लागि विषयवस्तुको ज्ञान हुनैपर्छ । विषयवस्तु बुझ्नका लागि शिक्षकको साथमा विद्यार्थी र अभिभावकले पनि प्रयास गर्न जरुरी छ ।
विद्यार्थीमा बढ्दो मोबाइल वा ग्याजेट मोहलाई आजकाल अध्ययनको शत्रुका रूपमा हेरिन्छ । यो पूर्णरूपमा असत्य होइन तर सत्य पनि होइन । मोबाइल, ल्यापटपले पढाइमा सजिलो नै बनाएको छ । सूचनाहरू प्राप्त गर्न विगतमा भन्दा सजिलो भएको छ ।
एसईईको रिजल्ट नै सम्पूर्ण शिक्षाको मापक होइन, तर हाम्रो आशाको अनुपातमा विद्यार्थीहरू, अध्ययनशील, खोजकर्ता अन्वेषक र अनुसन्धानकर्ता बन्न सकेनन् । यसको जिम्मेवारी केवल शिक्षकको टाउकामा, केबल विद्यार्थीको टाउको थोपार्ने प्रयास पनि नगरौं । हामी सबैले आत्मा साक्षी राखेर शिक्षालाई रोचक, रोजगारीमूलक, रोमाञ्चित, दैनिकका समस्या समाधान गर्न सक्ने गरी विकसित गरौं ।
देशले चाहेको धेरै नम्बर ल्याउने विद्यार्थीहरू होइन, धेरै काम गरेर देखाउन सक्ने विद्यार्थी हो । हाम्रो शिक्षाको अन्तिम गन्तव्य आविष्कारक, उद्यमी र असल नेतृत्वदायी व्यक्ति जन्माउनु हो । आजका अनुत्तीर्ण विद्यार्थीहरू चीट चोरेर जीपीए बढाएका विद्यार्थीभन्दा असल हुनेछन् ।
तैपनि दुनियाँका अगाडि प्रमाणपत्र नै पेश गर्नुपर्ने भएकाले कुनै पनि बहानामा अल्छी नगरी पढ्ने कुरामा पछाडि नपरांै । पढाउने कुरा पूर्णरूपमा शिक्षकको जिम्मामा भएकाले उहाँहरूले पनि बहाना नबनाएर आफ्नो सर्वोत्तम क्षमताको प्रयोग गरौं । निजी विद्यालयहरूले आफ्नो रिजल्ट बढाउन परीक्षा केन्द्र किन्ने, सेटिङ गर्ने गरेको जस्ता आरोप लाग्ने गरेको छ । यसतर्फ पनि सबै चनाखो हुन जरुरी छ ।
एसईई परीक्षा नै सबैथोक होइन । यसमा निकै राम्रो गरेकाहरू पनि माथि गएर खासै सफलता प्राप्त गर्न सकेका छैनन् । यसमा औसत अंक ल्याउनेहरूले पछि गएर धेरै राम्रो गरेका छन् । खासमा भन्ने हो भने एसईईमा राम्रो गरेकाभन्दा औसत अंक ल्याएकाले गरेको प्रगतिको मात्रा बढी छ ।विद्यालय शिक्षा पास फेलमात्र होइन, सामाजिकीकरण गर्ने माध्यम पनि हो ।
सामाजिकीकरणका दृष्टिले निजी विद्यालयभन्दा सरकारी विद्यालयका विद्यार्थी अब्बल देखिएका छन् । पैसा तिरेर पढाउँदा अभिभावक सचेत हुने तथा सचेत अभिभावकले बच्चालाई बढी मार्गनिर्देशन गर्न सक्ने भएकाले निजीको परिणाम राम्रो देखिएको हो । त्यसैले एसईईको असफलता भनेर मात्र हुँदैन, यसका विविध पक्षबारे पर्याप्त र सर्वपक्षीय विश्लेषण जरुरी हुन्छ ।
लेखक कैलासकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।