काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि उद्धारका लागि प्रभु एयरको हेलिकप्टर घटनास्थलतर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहितको टोली समेत घटनास्थलमा पुगेको छ ।
काठमाडौंबाट रसुवाको स्याप्रुवेशीका आज (बुधवार) अपराह्न १:५४ बजे उडेको नाइन एन-एजेडी कल साइनको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नं ७ सूर्याचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविच्छेद भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीका अनुसार दुर्घटनास्थलमा आगो लागेको छ । हाल उद्धार भइरहेको उनले जानकारी दिए । हेलिकप्टरमा चालकबाहेक ४ जना चिनियाँ नागरिक रहेको जानकारी आफूले पाएको उनले बताए । उक्त हेलिकप्टर पाइलट अरूण मल्लले उडाएका थिए ।