चालू आर्थिक वर्ष २०६९/७० को पहिलो ५ महीनामा पाँच नयाँ औषधि उद्योग दर्ता भएका छन् । दर्ता भएका औषधि उद्योगमध्ये तीन आयुर्वेदिक र दुई एलोपेथिक रहेको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक गजेन्द्रबहादुर भुजूले अभियानलाई बताए । उनले भने, ‘अहिले नेपालमा औषधिको माग वार्षिक १० प्रतिशतले वृद्धि हुँदै गएकाले औषधि उद्योग दर्ता हुने क्रम बढेको हो ।’
उनका अनुसार दर्ता भएका आयुर्वेदिक उद्योगहरूमा न्यौपाने आयुर्वेदिक औषधि उद्योग, चण्डेश्वरी हर्बल उद्योग र अमर सञ्जीवनी आयुर्वेदिक उद्योग तथा एलोपेथिक उद्योगहरूमा इनोभेटिभ फर्माल्याब प्रालि र माइक्रो हुकुम फर्मास्युटिकल्स प्रालि छन् । ती उद्योग क्रमश: रूपन्देही, बनेपा, सिन्धुपाल्चोक, चितवन र भक्तपुरमा सञ्चालन हुने गरी दर्ता भएका हुन् । दर्ता भएका सबै औषधि उद्योगमा रू. ६४ करोड ५० लाख लगानी प्रस्ताव गरिएको विभागले बताएको छ ।
हाल नेपालमा वार्षिक ५ अर्ब रुपैयाँबराबरको आयुर्वेदिक औषधिको माग छ । तर, ‘स्वदेशी कम्पनीले मागको २० प्रतिशत मात्र आयुर्वेदिक औषधि उत्पादन गर्दै आएका छन्,’ नेपाल हर्ब एण्ड हर्बल प्रडक्ट एशोसिएशनका महासचिव प्रेमराज तिवारीले भने ।
वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९