नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले जम्मा शून्य दशमलव १ प्रतिशत भूभागमात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३ दशमलव २ प्रतिशत वनस्पति १ दशमलव १ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बद्ध जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्त्व बढ्दै गएको छ । तसर्थ हामी र हाम्रा सन्ततिले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्न तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो । पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले लोप भइरहेका छन् । वासस्थानको क्षति, अन्तरराष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी शिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको बढ्दो महत्त्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बद्ध राज्य र जनता नै भएको र अन्तरराष्ट्रिय माग पूरा गर्न हुनसक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नु अपरिहार्य छ ।
एकसिंगे गैंडा नेपालकै पहिचान हो । चितवन राष्ट्रिय निकुञ्ज गैंडाको ठूलो आवास क्षेत्र हो । सन् २०२१ को गैंडा गणनाअनुसार नेपालमा ७५२ गैंडा भएको पाइन्छ । तीमध्ये ६९४ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । निकुञ्जमा भएका गैंडामध्ये यसको पश्चिमी क्षेत्रमा मात्र ६० प्रतिशत गैंडा पाइन्छन् । उक्त संख्या अघिल्लो गणना सन् २०१५ को तुलना ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैंडा गणना भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा प्राकृतिक कारणले विगत वर्षहरूमा ३६ गैंडा मरेको समाचार प्रकाशमा आएको थियो । अघिल्लो आव यो अवधिमा ३३ ओटा गैंडा प्राकृतिक कारणले मरेका थिए । त्यस्तै, चालू आवको १० महीनामा २१ ओटा गैंडा मरेको समाचार प्रकाशमा आएको थियो । निकुञ्जका अनुसार एकआपसमा जुधेर, बाढीले बगाएर, दलदलमा भासिएर, बाघको आक्रमणबाट, चोरीशिकारी, आदि कारणले गैंडा मरेको पाइन्छ । गैंडा मर्न र मारिनबाट जोगाउन सरकारले उचित पहल लिन अपरिहार्य छ । मुलुकको पहिचानदेखि पर्यापर्यटनसम्म जोडिएको वन्यजन्तुसित सम्बद्ध सम्पूर्ण पाटाहरूलाई सरकारले गम्भीरतापूर्वक लिनु आजको आवश्यकता हो ।
एकोहोरो हिसाबले गैंडाको संख्या बढाउनु मात्रलाई उपलब्धि नठानी त्यससँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–गैंडा द्वन्द्व न्यूनीकरणलगायत विषय पनि उच्च प्राथमिकतामा राखी प्रभावकारी योजना बनाउन अति आवश्यक हुन्छ ।
यसै सिलसिलामा चितवनको पटिहानीमा पाँच देशका गैंडा विज्ञहरूको ३ दिनसम्म चलेको सम्मेलनले संरक्षण, संख्या व्यवस्थापन, आवास व्यवस्थापन, अनुसन्धान, अनुगमन र सूचना आदानप्रदान, समन्वय र सहयोगलगायत शीर्षकमा बुँदागत धारणा सार्वजनिक गरेको थियो । उक्त सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेशिया, मलेशियालगायत देशका ६५ जना विज्ञ सहभागी थिए । सम्मेलन गैंडाको वासस्थान सुधार, सुरक्षा, चोरीशिकार नियन्त्रण गर्न साझा प्रयास गर्ने, एउटै प्रजातिको गैंडाको अन्तरदेशीय स्थानान्तरण गर्ने, वंश विस्तार गर्ने, प्रजनन केन्द्र स्थापना गर्नेजस्ता साझा धारणामा पुगेका थिए । त्यस्तै सुरक्षा व्यवस्था बलियो बनाउने, गैंडाको अवैध रूपमा हुँदै आएको खाग तथा सिङको व्यापारबारे जानकारी लिने, संरक्षणका लागि फोरेन्सिक विज्ञानको प्रयोगसहित उन्नत प्रविधिको प्रयोगमा जोड दिने, गैंडाका अवैध सिकार रोक्न संरक्षण र निगरानीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालिएको थियो । फिल्ड सुविधामार्फत कर्मचारीको उच्च मनोबल कायम राख्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीयको आर्थिक वृद्धि गर्न वैकल्पिक जीविकोपार्जन प्रदान गर्ने, संरक्षित क्षेत्र वरपरका सामुदायिक विकास कार्यक्रमहरू प्रभावकारी रूपमा गर्ने निर्णय गरेको पाइन्छ । यी निर्णय कार्यान्वयन भएमा गैंडा संरक्षणमा अहम् भूमिका खेली पर्यटन विकास भई आर्थिक समृद्धिमा टेवा मिल्नेछ ।
गैंडालाई पर्याप्त मात्रामा घाँसे मैदान, पानीका घोल र तालतलैया आवश्यक पर्छ । एक अध्ययनले चितवन निकुञ्जमा घाँसे चौरको मात्रा घटेको देखाएको छ । घाँसे मैदान र पानीका घोलहरू माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजातिले ढाकिरहेका छन् । मनसुनी बाढीका कारण पनि विगतमा गैंडा रमाउने घाँसे मैदानहरू बगरमा परिणत भइरहेका छन् । निकुञ्ज भएर बग्ने नदी र सिमसारहरू बाढी–पहिरोपछि बगेको भेल–गेग्रानले पुरिँदै गएका छन् । सेपिलो र दलदल हुनुपर्ने वासस्थान सुक्खा हुँदै गएको छ । अध्ययनअनुसार निकुञ्जमा वर्षेनि २ प्रतिशतका दरले गैंडाको आहार– घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् । यसको ज्वलन्त उदाहरणका रूपमा चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ अन्दाजी १६ वर्षको एकसिंगे गैंडालाई होटेलको सेफ्टीट्यांकीबाट उद्धार गरिएको घटनाले पुष्टि गर्छ ।
चितवन निकुञ्जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत रहेको घाँसे मैदान केही समय पहिलेको अध्ययनले ९ दशमलव ६१ प्रतिशत (कोर एरियामा) र मध्यवर्ती क्षेत्रमा २ दशमलव शून्य ६ प्रतिशतमा खुम्चिएको देखाएको छ । संरक्षण क्षेत्र वरपर बढ््दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगको कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँबस्तीमा पस्ने गरेको पाइन्छ । संरक्षित क्षेत्रभित्र बसोवास गर्ने तथा संरक्षित क्षेत्रको वरिपरि बासोवास गर्ने समुदायहरूको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । गैंडालगायत वन्यजन्तुबाट मानिसको मृत्यु र घाइते बनाउनेजस्ता मानवीय क्षति र वन्यजन्तुबाट बालीनाली, घरगोठ क्षति हुने गरेको छ । मानव वन्यजन्तु द्वन्द्व एउटा ट्डकारो समस्याका रूपमा देखापरेको छ ।
गैंडालाई पर्याप्त मात्रामा घाँसे मैदान, पानीका घोल र तालतलैया आवश्यक पर्छ । एक अध्ययनले चितवन निकुञ्जमा घाँसे चौरको मात्रा घटेको देखाएको छ । घाँसे मैदान र पानीका घोलहरू माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजातिले ढाकिरहेका छन् ।
विगतमा आश्रयस्थल बनाएको स्थान उपयोग्य नभएपछि धेरै गैंडा अहिले पश्चिम क्षेत्रतिर सरेको पाइन्छ । सौराहाभन्दा पूर्वक्षेत्रमा गैंडाको संख्या पातलो भएको छ । यसरी गैंडा एकै स्थानतिर बसाइ सर्दाको असर सबैतिर पर्न जान्छ । गैंडा बसाइँ सरेका कारण अर्बौं लगानी भएको पर्यटन क्षेत्र धर्मराउने सम्भावना हुन्छ । यसो भयो भने देशको आर्थिक अवस्था झन् खस्किन्छ । विगतदेखि नै गैंडाको मूल वासस्थानमा अहिले देखापरेको समस्या सुल्झाउनेतिर अब ढिलाइ गर्नु हुँदैन । सुकेका पानीका घोल ब्युँताउने, नयाँ पोखरी बनाउने, बिग्रँदो घाँसे मैदानको व्यवस्थापन र रोगव्याधिबारे अनुसन्धान गर्ने कार्यलाई सम्बद्ध निकायहरूले प्राथमिकतामा राखी आर्थिक विकास गर्नु अति आवश्यक छ ।
जलवायु परिवर्तनका कारण मिचाहा प्रजातिका वनस्पति अझै बढ्ने र आहारमा थप संकट उत्पन्न हुने सम्भावना छ । जलवायुजन्य विपद् बढ्दै जाँदा उत्पन्न हुने बाढीका कारण गैंडालगायत प्रजातिको संख्यामै फेरबदल ल्याउन सक्ने देखिएकाले चुरे र मध्यपहाडको विकास निर्माणलाई वातावरणमैत्री बनाउन अति आवश्यक छ । निकुञ्जभित्रको नदी तटीय क्षेत्र केही मात्रामा सुरक्षित भए पनि मध्यवर्ती क्षेत्र र माथिल्लो तटीय क्षेत्रमा जोखिम छ । मध्यवर्ती क्षेत्र पनि गैंडाको आश्रयस्थल हो । राम्रो वासस्थान र आहारको खोजीमा निकुञ्जभित्रका गैंडा माथि भनेजस्तै मानवबस्तीमा आउँदा कतिपय अवस्थामा प्रतिशोधका कारण पनि मारिएका छन् । त्यस्तो द्वन्द्व बढ्न सक्ने भएकाले सरकारले स्थानीय बासिन्दाको मनोबल जित्न र संरक्षणमा उनीहरूको साथ लिन जीविकोपार्जनका कार्यक्रमहरूमा पनि जोड दिनु आवश्यक छ । त्यस्तै नारायणी नदीको पानीमा बढ्दो प्रदूषणको पानीले गैंडालाई असर पुगेको छ ।
समय किटान गरेरै गर्ने भनिएका काम बेलैमा पूरा नगर्ने हो भने पटकपटक बनाइएका ठूला वन्यजन्तु व्यवस्थापन सम्बन्धी कार्ययोजना, सम्मेलन, निर्णय अर्थहीन साबित हुनेछन् । त्यसको परिणाम पनि उत्साहजनक आउने छैन । त्यसैले, एकोहोरो हिसाबले गैंडाको संख्या बढाउनु मात्रलाई उपलब्धि नठानी त्यससँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–गैंडा द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पनि उच्च प्राथमिकतामा राखी प्रभावकारी योजना बनाउन अति आवश्यक हुन्छ । त्यसो हुन सक्यो भने मात्रै वन्यवन्तु–मानव सहअस्तित्व दीर्घजीवी भई पर्यापर्यटन प्रवर्द्धन भई आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।
डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।