वीरगञ्ज । बाराको बरियारमा शुरु भएको पञ्चवर्षीय गढिमाई मेलाको मौका छोपेर बाराका सीमानाकाहरूबाट अवैध आयात बढ्न थालेपछि वीरगञ्ज आईसीपी भन्सार र जिल्ला प्रशासन कार्यालय, बाराले ती क्षेत्रमा गस्ती बढाएका छन् ।
भारतसँग सिमाना जोडिएका बाराका नाकाहरूबाट तस्करी बढेको सूचना आएपछि भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त अधिकारी रात्रिगस्तीमा निस्किन थालेका हुन् ।
गढिमाईमा लागेको धार्मिक मेलामा भारतबाट लाखौं भक्तजन आउने भएकाले त्यही भिडको मौका छोपेर स्थानीय केही ‘विवादास्पद व्यापारीहरू’ले भारतबाट अवैधरूपमा मालसमान भित्र्याइरहेको सूचना आएपछि रात्रिगस्ती थालिएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।
‘सूचना आएका र शंकास्पद क्षेत्रमा एक हप्तादेखि रात्रि गस्ती गरेका छौं । राति २÷३ बजेसम्मै विभिन्न नाकाहरूमा भन्सार र प्रशासनको संयुक्त निगरानी भइरहेको छ,’ उनले आर्थिक अभियानसित भने ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लामा तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउन लागिएको बताए । ‘सरकारी गाडीमा जाँदा सबैले चिन्ने र सूचना चुहिने भएपछि निजी गाडीमार्फत गस्तीमा निस्किने गरिएको छ । यसलाई हामीले अभियानकै रूपमा लैजाने छौं,’ सीडीओ अधिकारीले भने ।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि जनपद र सशस्त्र प्रहरीसमेत खटिएका छन् । सिमानामा सुरक्षाकर्मीको उपस्थितिकै अगाडि ‘खुलेआम’ अवैध आयात भइरहेको स्थानीयले बताउने गरेका छन् । पर्सा, रौतहट, सर्लाही, धनुषा लगायतका जिल्लामा सक्रिय अवैध कारोबारीहरू पछिल्ला केही दिनयता बारामा केन्द्रित भएको दाबी अधिकारीहरूले गरेका छन् ।
प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार बाराको सिम्रौनगढ, तामागढी, कबही, मटिअर्वा, इनर्वालगायतका क्षेत्रलाई भन्सार र प्रशासनको संयुक्त गस्तीले निगरानीमा राखेको छ । ती क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मीसहित भन्सार प्रशासक र बाराका सिडियो गस्तीमा निस्किएपछि अवैध आयातमा संलग्नहरूलाई ‘मनोवैज्ञानिक त्रास बढेको’ दाबी उनले गरे ।
यो गस्ती अवैध आयात नियन्त्रणसँगै गढिमाई मेलामा सुरक्षा सतर्कता र प्रभावकारी व्यवस्थापनमा पनि लक्षित भएको सुरक्षा अधिकारीले बताएका छन् । मेलाको माहोलमा सीमाक्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा पनि गस्तीले सहयोग पुग्ने दाबी उनीहरूको छ ।
सीमावर्ती क्षेत्रमा राजस्व चुहावटका घटना बढेपछि गत महीनादेखि भन्सारले पर्सामा पनि गस्ती परिचालन गरेको थियो ।