काठमाडौं। महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार लगायत क्षेत्रमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती कार्यक्रम गरेको बताएको छ ।
सोहीअन्तर्गत बैंकले आफ्ना विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज राउण्ड टेबल नेपाल र बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन: प्रशोधनका लागि दिई सोमार्फत प्राप्त रकम गरीब तथा असहाय विद्यार्थीको शिक्षामा पहुँच विस्तार गर्दै आएको बताइएको छ ।
त्यस्तै बैंकले काठमाडौंको तीनकुने टोल सुधार समितिलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरिएको बताइएको छ । बैंकले ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभूषणको प्रदर्शन गर्न आयोजित ‘पाटन हेरिटेज रनवे’को आयोजनामा आर्थिक सहयोग गरेको बताइएको छ ।
त्यसैगरी दैनिक कामकाजलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामग्री खरीद गर्न रूपन्देहीको सिद्धार्थनगरको एक शिव मन्दिरलाई आर्थिक सहयोग गरिएको बताइएको छ ।