काठमाडौं। विजय लघुवित्त वित्तिय संस्था लिमिटेड धुलिखेलको आयोजनामा विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करीब २०० जना विद्यार्थीको सहभागिता थियो ।
संस्थाका सञ्चालक खेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष लोकबहादुर खड्का, सञ्चालक कपिल न्यौपाने, कमलप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नारायण सापकोटाले गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्सालले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा वित्तीय साक्षरताको अर्थ, यसको महत्त्व, सिद्धान्त तथा वित्तीय साक्षरताका क्षेत्रका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफल गरेका थिए । प्रस्तुतिमा उनले आवश्यकता तथा चाहना, पारिवारिक बजेट, वित्तीय लक्ष्य, बचत, कर्जा तथा वित्तीय सेवा प्रदायक संस्थाको बारेमा विस्तृत रूपमा छलफल गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष खड्काले निक्षेप तथा कर्जा सुरक्षा, विद्युतीय वित्तीय सेवा तथा यसको उपयोग, सम्पत्ति शुद्धीकरणको विषयमा विचार राखेका थिए । सोही अवसरमा संस्थाका सञ्चालक कमलप्रसाद ज्ञवालीले लघुवित्तले वित्तीय पहुँचमा पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए ।