केन्द्रीय तथ्यांक विभागले गत साता सार्वजनिक गरेको चलचित्र तथा सङ्गीत गणना २०६८ ले नेपालमा गतवर्ष २ अर्ब ६३ करोड रुपैयाँको चलचित्र तथा सङ्गीत उत्पादन भएको देखाएको छ । मुलुकमा सञ्चालनमा रहेका चलचित्र निर्माण, प्रोडक्शन, वितरण, प्रदर्शनदेखि टेलिभिजन कार्यक्रम निर्माण, विज्ञापन चलचित्र निर्माण, म्युजिक तथा म्युजिक भिडियो रेकर्डिङ र अन्य गरी आठ प्रकारका ५ सय ३० उद्योगले सो परिमाणको मनोरञ्जन सामग्री उत्पादन गरेको तथ्यांकमा उल्लेख छ ।
चलचित्र तथा सङ्गीत क्षेत्रले अघिल्लो वर्ष ७२ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि गरेको पनि तथ्यांकमा उल्लेख छ । गणनाले नेपाली चलचित्र उद्योगको उत्पादन विज्ञापन चलचित्रभन्दा कम भएको तथ्य प्रस्तुत गरेको छ । कुल उत्पादनमा विज्ञापनको हिस्सा १ अर्ब ४२ करोड रुपैयाँ छ भने चलचित्र निर्माण, प्रदर्शन, वितरण र पोष्ट प्रोडक्शन सबैको जोड्दा १ अर्ब ४० लाख रुपैयाँबराबरको उत्पादन गरेको देखिन्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७५, सोमवार १८ मङ्सिर, २०६९