काठमाडौं । शैक्षिक संस्थाहरू ठूला संगठित संस्थाको लगानी आकर्षित गर्न सफल भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल एडुकेटर्स लिमिटेड र युनिग्लोब सेकेन्डरी स्कूलमा लगानी घोषणा गरेको १ महीनापछि सोल्टी होटेल लिमिटेडको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राईजेज प्रालिले संघीय राजधानीको एक कलेजमा लगानी गर्ने घोषणा गरेको छ ।
पाँच दशक पुरानो पाँचतारे सोल्टी होटेलको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राईजेजले सम्बद्ध जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको शेयर किन्न लागेको हो । काठमाडौंसहित उपत्यकाबाहिर समेत अतिथि सत्कार सेवा विस्तार गरिरहेको सोल्टी होटेलको प्रवर्तकले ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन प्रालि (गेट कलेज)को ३५ प्रतिशत शेयर किन्न लागेको सम्बद्ध कम्पनीका अधिकारीहरूले बताएका छन् ।
सोल्टी होटेल लिमिटेडको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राइजेज प्रालि र गेट कलेजबीच मंगलवार शेयर खरीदविक्रीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सोल्टी इन्टरप्राईजेजको तर्फबाट सुदर्शन चापागाईं र गेट कलेजका संस्थापकसमेत रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खेमराज लकाईले हस्ताक्षर गरेका हुन् । कलेजको ३५ प्रतिशत शेयर स्वामित्व लिन समझदारी भएको चापागाईंले जानकारी दिए ।
गेट कलेजले आतिथि सत्कार सेवाको स्नातक तहको शैक्षिक कार्यक्रम र त्यससँग सम्बद्ध विभिन्न तालीम दिँदै आएको लकाईले जानकारी दिए । ‘सोल्टी’ ब्रान्डमा काठमाडौंसहित उपत्यकाबाहिर नेपालगञ्ज, इटहरी, नगरकोटलगायत स्थानमा सोल्टी होटेलले आफ्नो सेवा विस्तार गरेको छ । ‘आतिथ्य सेवा विस्तार गरिरहेको सोल्टी होटेलको शैक्षिक क्षेत्रमा प्रवेश रणनीतिक कदम हो,’ उपाध्यक्ष चापागाईंले भने, ‘अब हामी कोर्स डिजाइन गरेर कार्यान्वयनमा जानेछौं ।’
उक्त कलेजबाट पासआउट भएका विद्यार्थीले आफ्नै होटेलमा अभ्यास र कामको अवसर पाउने चापागाईंको भनाइ छ । होटेल व्यवस्थापनको १२ कक्षा अध्ययनपछि बाहिर जाने जनशक्तिलाई केही हदसम्म भए पनि स्वदेशमा रोक्न यो कदम चालिएको उनको भनाइ छ ।
गेट कलेजका सीईओ लकाईले अतिथि सत्कार सेवामा पुरानो होटेल भएको र चेन पनि विस्तार गरिरहेकाले सोल्टीलाई लगानीकर्ताको रूपमा भित्त्याएको जानकारी दिए । ‘होटेल र अतिथि सत्कार सेवाका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने कलेजसँगै हुनुपर्छ भन्ने मान्यता हो,’ लकाईले भने, ‘त्यसअनुसार सेवा र होटेल बढाउँदै गएको सोल्टीसँग सहकार्य गर्दा पासआउट हुने विद्यार्थीले सहज रूपमा अभ्यास र रोजगारीको अवसर पाउँछन् ।’ आतिथ्य सेवाको स्नातक तह र विभिन्न छोटो अवधिका तालीम दिँदै आएको कलेजबाट वार्षिक ५०० जना पासआउट हुन्छन् । धमंगलवार भएको समझदारीअनुसार अब साविक गेट कलेज ‘सोल्टी गेट कलेज’को नाम र ब्रान्डबाट सञ्चालन हुनेछ ।
- सोल्टी इन्टरप्राइजेज प्रालि र गेट कलेजबीच मंगलवार समझदारीपत्रमा हस्ताक्षर
- अब कलेज ‘सोल्टी गेट कलेज’को नाममा सञ्चालन हुने
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि दुईओटा शैक्षिक संस्थामा शेयर लगानी गर्दै
उक्त सहमतिले होटेल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा अध्यापनमा अतुलनीय योगदान दिने बताइएको छ । गेट कलेजले विद्यार्थीलाई असाधारण सिकाइ अनुभवहरू, उन्नत शैक्षिक स्रोतहरू र आतिथ्य व्यवस्थापन शिक्षामा व्यक्तिगत र व्यावसायिक अभिवृद्धिका लागि अवसरहरू प्रदान गर्ने दाबी पनि गरिएको छ । यसअघि साउनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७३ लाख रुपैयाँ लगानी गरी कम्पनीको ३५ दशमलव ३२ प्रतिशत शेयर लिने सम्झौता गरेको थियो । त्यसैगरी कम्पनीले थप ६० करोड रुपैयाँ लगानी गरी युनिग्लोबमा ४७ दशमलव ६२ प्रतिशत शेयर स्वामित्व लिने सम्झौता गरेको थियो ।
नोटः यस अघि यो समाचारमा गेट कलेजमा लगानी गर्दै सोल्टी इन्टरप्राईजेज हुनपर्नेमा अन्यथा हुन गएकोले सञ्चाईएको छ । सम्पादक