काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी ४१ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्म १ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो ।
यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी १ दशमलव ४० प्रतिशत बढी अर्थात् १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी भएको छ । यस वर्ष कम्पनी १५ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा छ । यस वर्ष कम्पनीको वित्तीय खर्च २६ करोड ५६ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वित्तीय खर्च १९ करोड ३० लाख रुपैयाँभन्दा बढी थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक १८ रुपैयाँ ३२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा छ ।