चितवन। स्थानीय तहले घरधनीबाट नभई व्यवसायीबाट घरबहाल कर असुल्दै आएको व्यवसायीले गुनासो गरेका छन् । भरतपुर महानगरपालिकाले घरबहाल कर घरधनीबाटै असुल्न परिपत्र गरे पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै व्यवसायीले गुनासो गरेका हुन् । चितवनमा अन्य ६ ओटा पालिकामा त झनै कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
सबैतिरबाट व्यवसायी चेपुवामा पर्दा व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएको उनीहरूको भनाइ छ । बजार क्षेत्रमा घर तथा सटर भाडामा लिएर व्यवसाय गरेका करीब २० प्रतिशत व्यवसायी पलायन भएको नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका निवर्तमान अध्यक्ष ख्यामनारायण पराजुली बताउँछन् । ‘समग्र जिल्लाको हकमा कुरा गर्दा करीब १५ प्रतिशत व्यवसायी विस्थापित भएको अवस्था छ । बजार क्षेत्रका धेरै सटरमा भाडामा र विक्रीमा लेखेर राखिएको छ,’ पराजुलीले भने । मञ्चका अनुसार मुख्य बजार क्षेत्रमा घर भाडामा लिएर व्यवसाय गरेका २० देखि २५ प्रतिशत व्यवसायी पलायन भएका छन् । तीनदेखि चारओटा सटर लिएर व्यवसाय गरेकाहरूले अहिले एउटामात्रै सटर लिएको उनले बताए । आर्थिक मन्दीमा व्यवसाय नचलिरहेको अवस्थामा समेत घरधनीबाट घरभाडा छूट नगर्दा व्यवसायी समस्यामा परेको उनी बताउँछन् ।
घरबहाल करको विषयमा महानगरले वडालाई गरेको परिपत्रको पूर्ण कार्यान्वयन गर्न उनले आग्रह गरे । ‘सम्झौतापत्रमा घरबहाल कर कसले तिर्ने भन्ने विषयमा केही उल्लेख छैन वा व्यवसायीले तिर्ने भनी उल्लेख भएको अवस्थामा महानगरले व्यवसायीबाटै कर लिने गरेको छ । घरबहाल कर घरधनीबाटै लिनुपर्ने हाम्रो माग रहेको छ,’ उनले भने । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलले घरभाडा, ऋणको किस्ता, ब्याज, कर लगायत तिर्नुपर्दा व्यवसायी समस्यामा परेको बताए । उनले भने, ‘खाली सटर तथा भवनमा घरभाडामा पहिलाको भन्दा भारी छूट भन्दै गर्दासमेत नयाँ व्यवसायी आउन सक्ने अवस्था छैन ।’