काठमाडौं । विगत दुई वर्षमा शेयर बजारमा आएको ह्रासको असर धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट)को वृद्धिमा देखिएको छ । विगतमा वार्षिक १५ लाखदेखि २० लाखले बढेको डिम्याट खाता पछिल्ला दुई आर्थिक वर्ष (आव)मा ६ लाखभन्दा कमले बढेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाएको छ ।
गत आव २०८०/८१ मा डिम्याट खाता संख्या ५ लाख ७२ हजारभन्दा धेरै थपिएको सिडिएससीले जानकारी दिएको छ । उक्त वृद्धिसँगै डिम्याट खाता संख्या ६३ लाख २४ हजार नाघेको छ ।
अघिल्लो आव २०७९/८० मा ४ लाख ७३ हजारभन्दा धेरैले डिम्याट खाता बढेको थियो । आव २०७६/७७ को अन्तिमसम्म डिम्याट खाता संख्या १७ लाख ८ हजारभन्दा केही बढी मात्र थियो । त्यसको पछिल्लो आव २०७७/७८ मा यो संख्या २० लाखभन्दा धेरैले बढेर ३७ लाख २६ हजारभन्दा बढी कायम भएको थियो । विगत पाँच वर्षको तथ्यांक हेर्दा आव २०७७/७८ मा सबैभन्दा बढी डिम्याट एकाउन्ट थपिएको देखिन्छ । त्यसपछिको आव २०७८/७९ मा पनि १५ लाख ५० हजारभन्दा बढी डिम्याट खाता खोलिएको थियो ।
डिम्याट खाताको संख्या हरेक वर्ष बढिरहेको अवस्थामा निष्क्रिय खाता पनि बढिरहेको जानकारी सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले दिए । एउटै व्यक्तिको नाममा दुई वा दुईभन्दा बढी डिम्याट खाता भएकाले पनि निष्क्रिय हुने क्रम बढिरहेको अनुमान उनले गरे । सार्वजनिक निष्कासन (आईपीओ)मा सबै आवेदकलाई अनिवार्य १० कित्ता बाँडफाँटको नीति लागू भएसँगै डिम्याट खाता तीव्र रूपमा बढेका थिए । पछिल्लो समय आवेदकको संख्या बढ्दै जाँदा आईपीओ पाउन सहज छैन, जसले गर्दा डिम्याट खोल्ने लहर पनि घटेको न्यौपानेले बताए ।
डिम्याट खाता संख्या ६३ लाखभन्दा बढी रहे पनि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको सहभागिता भने करीब २३ लाख मात्र रहेको बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । यो तथ्यांकले दोहोरो डिम्याट खाता धेरै रहेको अनुमान गर्न सकिने लगानीकर्ता डम्बरु बल्लब घिमिरे बताउँछन् ।
डिम्याट खाता बढेकै कारण छोटो समयमै बजारले फड्को मारेको बुझाइ लगानीकर्ता घिमिरेको छ । हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत १३ अर्ब ४० करोडभन्दा बढी कित्ता धितोपत्रमध्ये १२ अर्ब ६६ करोडभन्दा बढी कित्ता धितोपत्र डिम्याट खातामा जम्मा भइसकेको छ ।
धितोपत्र बजारमा अधिकांश धितोपत्र डिम्याट हुनुले सबै लगानीकर्ताको सम्पत्ति सुरक्षित हुने उनले बताए । कागजी प्रणालीमा धितोपत्र कारोबार हुँदा धेरै कम्पनीको प्रमाणपत्र हराएको र आफ्नो लगानी डुबेको स्मरण गर्दै उनले अबका दिनमा यस्ता समस्याबाट लगानीकर्ता पीडित हुनु नपर्ने अपेक्षा गरे ।
धितोपत्र कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यले २०७३ साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य गरिएको थियो । सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि आवेदन दिँदा लगानीकर्ताले डिम्याट एकाउन्ट अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था उक्त समयदेखि गरिएको थियो । सो वर्ष डिम्याट खाताको व्यवस्था काठमाडौं उपत्यकाका लागि साउन १ र उपत्यकाबाहिरका लगानीकर्ताका लागि माघ १ गतेदेखि अनिवार्य रूपमा लागू गरिएको थियो ।
कहाँ खोल्न सकिन्छ डिम्याट खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल यस्ता निक्षेप सदस्य १११ ओटा छन् ।
डिम्याट खाता खोल्न बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ । कतिपयले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्छन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्र प्राथमिक शेयर भर्न वा दोस्रो बजार नेप्सेबाट शेयर खरीदविक्री गर्न सकिन्छ । त्यस्तै आफ्नोे डिम्याट खातामा कुन कुन कम्पनीको, कति शेयर छ, त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफैले मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड प्रदान गर्दछन् ।