काठमाडौं । चालू आर्थिक वर्ष २०७३/७४ मा नेपालमा भित्रिने प्रत्यक्ष विदेशी लगानी घटेको छ । विगतका वर्षको तुलनामा चालू आवमा अपेक्षाविपरीत ठूलो अन्तरले विदेशी लगानी ओरालो लागेको हो । गत आर्थिक वर्षमा भूकम्प र नाकाबन्दीको प्रभावस्वरूप विदेशी लगानी स्वात्तै घटेको थियो । यस वर्ष भने नयाँ संविधानको निर्माण, लगानीसम्बन्धी कानूनी तथा प्रक्रियागत सहजता, अन्तरराष्ट्रिय लगानी सम्मेलन, पूर्वाधार सम्मेलनजस्ता सकारात्मक प्रयासबाट विदेशी लगानी बढ्ने अनुमान गरिएको थियो । गत फागुनमा सम्पन्न अन्तरराष्ट्रिय लगानी सम्मेलनमा सहभागी विभिन्न देशका लगानीकर्ताले १४ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने इच्छासमेत व्यक्त गरेका थिए । तर त्यसअनुरूप लगानी भने बढ्न नसकेको हो ।
लगानी बढ्ने विभिन्न किसिमका आकलनविपरीत चालू आवमा गत आवको तुलनामा झन् न्यून विदेशी लगानी भित्रिएको छ । गत आवमा १५ अर्ब २५ करोड ४३ लाख रुपैयाँबराबरको विदेशी लगानी भित्रिएको थियो । तर, चालू आवमा १४ अर्ब २० करोड ६७ लाख रुपैयाँ मात्र विदेशी लगानी नेपाल आएको छ । यो रकम गत आवको तुलनामा १ अर्ब ४ करोड ७५ लाख रुपैयाँ कम हो ।
भूकम्प र नाकाबन्दीको असर बाँकी नै रहेकाले चालू आर्थिक वर्षमा विदेशी लगानी बढ्न नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ । ‘लगानीका हिसाबले मुलुकमा विगतमा भन्दा सकारात्मक वातावरण तयार भएको छ, ऊर्जाको समस्यासमेत केही हदसम्म समाधान भएको छ,’ उनले भने, ‘भूकम्प र नाकाबन्दीको असर लामो समयसम्म रहँदैन, त्यो क्षणिक हो । आगामी दिनमा विदेशी लगानी बढ्ने आशा गर्न सकिन्छ ।’
अनुकूल परिस्थितिबीच समेत विदेशी लगानी घट्नु चिन्ताको विषय भएको उद्योग विभागका महानिर्देशक शङ्कर अर्याल बताउँछन् । ‘सरकारको तर्फबाट त लगानी बढाउन हरसम्भव प्रयास भएकै छ,’ उनले भने, ‘चालू आर्थिक वर्षमा भएको प्रयासको प्रतिफल अर्को आर्थिक वर्षमा आउने अपेक्षा गरेका छौं ।’
पछिल्ला २ आर्थिक वर्षलाई आधार मान्ने हो भने गत आवको तुलनामा यस वर्ष नेपालमा महत्त्वपूर्ण लगानी भित्रिने सम्भावना रहेका देशबाट समेत अपेक्षित लगानी आउन सकेन । हालसम्म मुलुकमा विभिन्न ९१ देशबाट विदेशी लगानी नेपाल भित्रिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार हालसम्म नेपालमा ती देशबाट २ खर्ब १२ अर्ब २१ करोड ७२ लाख रुपैयाँबराबरको विदेशी लगानी भित्रिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.