कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार (आज) बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई २०८० चैत २७ गते दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।
यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशसभामा कुल ६० सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । यस प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।