काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।
आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।
त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।
कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।